अख्तियारका पूर्व आयुक्त पाठक विशेष अदालतमा

काठमाडौं, जेठ १ । ७८ लाख रुपैंयाँको घुस काण्डमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक मंगलबार सुटुक्क विशेष अदालतमा उपस्थित भएका छन् ।

अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा उनको बयान चलिरहेको छ ।

बयानपछि मंगलबार नै थुनछेकको लागि सुनुवाइ हुने जनाइएको छ । त्यसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटी माग्ने वा साधारण तारेखमा राख्न आदेश दिने छ । उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने हालसम्म फरार छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अभियोगपत्रमा पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरिएको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घूस लिने व्यक्तिलाई बिगो बमोजिम जरिवाना हुने उल्लेख छ ।

उक्त दफामा ५० लाखदेखि १ करोडसम्म घूस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने भनिएको छ । सोही ऐनको दफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घूस लिएको पुष्टि भए यी दुवै सजाय हुने भनिएको छ । यो घूस प्रकण प्रमाणित भए पाठकको हकमा दुवै व्यवस्था आकर्षित हुन्छन् ।

दुवै व्यवस्थाअनुसार उनलाइ ९ देखि १२ वर्षसम्म कैद हुनेछ । अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ । ऐनअनुसार कसुर प्रमाणित भए उनले ७८ लाख रूपैयाँ जरिवाना तिर्नु पर्नेछ । सोही बराबरको उनको सम्पत्ति जफत हुनेछ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 1:06 pm