नर्सको माग पूरा गर्न सकिन्नः मन्त्रालय

काठमाडौँ, वैशाख ३० । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सले उठाउँदै आएको माग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूरा गर्न नसक्ने जनाएको छ । केन्द्रमा कार्यरत नर्सहरू स्थायी गर्नुपर्ने लगायतका माग राख्दै दुई सातादेखि आन्दोलित छन् । उनीहरू कहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना बसेर दबाब दिइरहेका छन् भने कहिले लाजिम्पाटस्थित नेपाल नर्सिङ्ग संघमा बसेर आन्दोलन गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सले उठाएको माग पूरा हुनै नसक्ने बताउनुभयो । उहाँले केन्द्रमा कार्यरत नर्स स्वतः स्थायी हुनुपर्ने माग कुनै पनि हालतमा पुरा नहुने बताउनुभयो ।

‘तर्कसंगत आउने मागलाई मन्त्रालयले सम्बोधन तथा वार्ता गर्नसक्छ’,प्रवक्ता श्रेष्ठले थप्नुभयो,“नाजायज मागको पछाडि लागेर मन्त्रालयले कोहीसँंग वार्ता गर्दैन ।”

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले नर्सका माग पूरा गराउन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले प्रतिस्पर्धामा आएर स्थायी हुन आग्रह गर्दै स्वतः स्थायी हुने माग संविधानकै मर्म विपरीत भएको बताउनुभयो ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यरत नर्स डिक्की शेर्पाले अस्पतालमा स्थापनाकालदेखि कार्यरत कर्मचारीको भविष्यमाथि खेलबाड भएकोले आन्दोलित हुनुपरेको बताउनुभयो । उहाँले केन्द्रमा कार्यरत नर्सको रोजगारीको सुरक्षाको लागि आन्दोलन गर्नुपरेको भन्दै पछिल्लो पटक अस्पतालले स्थायी पदमा विज्ञापन खुलाएर वर्षौदेखि कार्यरत नर्सको वेवास्ता गरेको बताउनुभयो ।

आन्दोलनरत नर्सले अस्पतालमा कार्यरत कर्मचारीलाई कार्यसम्पादन मुल्याङ्कन र अनुभवको आधारमा ग्रेडिङ्ग गरिनुपर्ने, लामो समयसम्म कार्यरत कर्मचारीलाई स्थायी गरिनु पर्ने, सरकारी अस्पतालले पाउने सेवा सुविधा उपलब्ध गराउनुपर्ने लगायत पाँचबुदे माग राख्दै आन्दोलन गरिरहेका छन् । गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: सोमवार, बैशाख ३०, २०७६ /Monday, May 13th, 2019, 8:13 am