स्वदेश फर्किए सन्दीप, लिए यस्तो निर्णय !

काठमाडौं, बैशाख २९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार सन्दीप लामिछानेले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप क्रिकेट नखेल्ने भएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सबाट खेलेर आइतबार स्वदेश फर्केपछि सन्दीपले प्रधानमन्त्री कप नखेल्ने बताएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा जेठ १ गते देखि ७ प्रदेश र ३ विभागिय टोलीको सहभागितामा प्रधानमन्त्री कप हुने बताइएको छ । खराब मौसमका कारण पूर्वनिर्धारित समय भन्दा झन्डै ३ घन्टा ढिला गरि साँझ ५ः१५ बजे मात्र सन्दीप त्रिभुवन विमानस्थलमा ओर्लेका थिए ।

सन्दीपले परिवारलाई समय दिन र आरामका लागि प्रधानमन्त्री कपमा प्रतिस्पर्धा नगर्ने बताएका हुने । ‘केहि समय आराम गर्छु,’ उनले भने, ‘यो समय परिवार र साथी भाईसँग बिताउन चाहन्छु । त्यसैले पिएम कप खेल्दिन ।’

लगातार विभिन्न देशका लिग खेलिरहेका कारण सन्दीप धेरै समय देश बाहिर रहँदै आएका छन् । आइपिएलमा शुक्रबार उनको टोली दोस्रो क्वालिफायरबाट चेन्नईसँग छ विकेट पराजित हुँदै बाहिरिएको थियो । त्यो खेलमा पनि सन्दीपले मौका पाएका थिएनन् ।

टोलीलाई ब्याटिङको आवश्यकता परेकोले आफुले धेरै खेलमा मौका नपाएको पनि प्रष्ट पारेका छन् । सन्दीपले आइपिएलका ६ खेलमा ८ विकेट लिएका थिए ।

प्रकाशित मिति: आइतवार, बैशाख २९, २०७६ /Sunday, May 12th, 2019, 8:57 pm