बर्डफ्लुका कारण एक युवाको मृत्यु, कुखुरा ब्यवसायी अतंकित

काठमाडौं, बैशाख २० । पंक्षीमा लाग्ने बर्डफ्लुको संक्रमणबाट एक युवाकोे मृत्यु भएको सरकारले पुष्टी गरेको छ । सरकारले उक्त घटनालाई लुकाउने प्रयास गरेपनि बिदेशी संचार माध्यमले उक्त घटना सार्वजनिक गरेपछि सरकारले बिहीबार उक्त घटना सार्वजनिक गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी काभ्रेका २१ बर्षिय युवाको बर्डफ्लुको संक्रमणको कारण मृत्यु भएको जनाएको छ । ती ब्यक्तिको परिचयभ ने गोप्य राखिएको छ । बर्डफ्लुका कारण कुखुरा, काग, परेवा लगायतका पन्छी मर्न थालेको भन्दै सरकारले सर्तक रहन जनतालाई सजक गराएपनि बर्डफ्लुको कारण मानिसको मृत्यु भएको खवरलाई भने गोप्य राखेको थियो । ती युवाको एक महिना अघि नै मृत्यु भएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनचेतना तथा सचेत गराउनुपर्ने अवस्थामा जनतालाई भ्रममा राखेर कुखुराको मासु खाँदा बर्डफ्लु सर्दैन र मानिसको मृत्यु नहुने दावी गर्दै आएको थियो ।

बिदेशी संचार माध्यमले उक्त घटना महत्वका साथ सार्वजनिक गरेपछि सरकारले उक्त घटनालाई सामान्य रुपमा सार्वजनिक गरेको थियो । मृत्यु भएका ती युवकको संकलित र्याल नमूना नेपालमा परीक्षण हुन नसकेपछि विश्व स्वास्थ्य संगठनकै नेतृत्वमा जापान लगेर परीक्षण गर्दा गत महिना चैत १७ गते नै उक्त रिपोर्ट आएको थियो । ती युवकको चैत १५ गते उपचारको क्रममा राजधानीको एउटा अस्पतालमा मृत्यु भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

बर्डफ्लुका कारण मानिसको मृत्यु भएको सूचना बाहिरिएसँगै कुखुरापालक कृषक, उद्योगी, व्यापारी , उपभोक्तामा भने संत्रास छाएको छ । यस बिषयमा सरकार भने एक महिना सम्म मौन बसेर विश्व स्वास्थ्य संगठनको दबाब पछि मात्र जनताप्रति उत्तरदायी भएको दावी गरिएको ।

बर्डफ्लु विश्वमा पहिलो पटक सन् १९९६ मा हङकङ फ्लुका नामले चिनिएको थियो । सोही फ्लुका कारण धेरै मानिसको मृत्यु भएको थियो । यस अघि थाईल्याण्ड, जापान, पाकिस्तान लगायतका मुलुकमा बर्डफ्लुका कारण मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल समाचारपत्रमा भगवती तिमिल्सिनाले लेखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २०, २०७६ /Friday, May 3rd, 2019, 6:25 am