बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्यु

काठमाडौं, बैशाख १९ । नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको मृत्यु भएको छ । बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको हो ।

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । मृतकको नाम भने गोप्य राखिएको छ ।

ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बिरामीको उपचारको क्रममा स्वासप्रश्वासमा समस्या भइ चैत १५ गते मृत्यु भएको थियो ।

बर्डफ्लुबाट मृत्यु हुने व्यक्ति ढिला गरि उपचारमा आएको र औषधि दिएर पठाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका निर्देशक डा विवेकलाल कर्णले जानकारी दिए ।

उनले परिवारलाई भेटेपछि उनको मृत्यु भएको थाहा पाएको बताए ।

चैत १० गते ती बिरामी ज्वरो र खोकीको लक्षण सहित बिरामी भएर अस्पताल भर्ना भएका थिए भने चिकित्सकले इन्फुएन्जाको संक्रमण भएको शंका लागि घाँटीको र्याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएपनि पुष्टि हुन नसकेपछि जापान पठाइएको थियो ।

मन्त्रालयले सो घटनापछि अरु बिरामीमा भने प्रयोगशाला परीक्षणका क्रममा उक्त भाइरसको संक्रमण नदेखिएको स्पष्ट पारेको छ ।

भाइरसले धेरैजसो पंक्षीहरुमा संक्रमण गर्ने गर्दछ भने पंक्षीहरुको मृत्यु समेत हुने गर्छ । यही क्रममा सो भाइरस मानिसमा समेत सर्ने गरेको पाइएको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख १९, २०७६ /Thursday, May 2nd, 2019, 1:14 pm