आयो घनश्यामलाई चिठी !

काठमाडौँ, १८ वैशाख । कवि अशोक कुँवरले आफ्नो नयाँ कविता सङ्ग्रह घनश्यामलाई चिठी पाठकमाझ ल्याएका छन । पहिलो कविता सङ्ग्रह ‘आस्थाका बन्दीहरू’ पाठकमाझ ल्याएको दस वर्षपछि उनको दोस्रो कविता सङ्ग्रह सार्वजनिक गरिएको हो ।
बिडी त्यागी स्मृति केन्द्र, कपनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान वितरण कार्यक्रमसँगै उनको उक्त पुस्तक विमोचन भएको हो । पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. हेमनाथ पौडेलले समीक्षात्मक टिप्पणी गरेका थिए ।
यसका साथै सम्मान सत्रमा प्रदेश नं. ३ का प्रदेश सांसद रामेश्वर फुयाल, साहित्यकारहरू मधुसूदन पाण्डेय, बिमल कोइराला, विश्वप्रेम अधिकारी, यदुनाथ बसन्तपुरे, राधा दुलाल कार्की सम्मानित भए ।
नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा क्रियाशील कुँवरको उक्त पुस्तकमा जम्मा ५० कविताहरू सङ्गृहीत छन् । सङ्गृहीत कविताहरूले समसामयिक प्रदूषित राजनीतिक प्रणाली, राजनीतिक दलका नेताहरू, भ्रष्ट प्रशासक, विकृति, विसङ्गति, दुराचार प्रवृत्तिमाथि तिखो व्यङ्ग्य प्रहार गरेको पाइन्छ ।

प्रकाशित मिति: बुधबार, बैशाख १८, २०७६ /Wednesday, May 1st, 2019, 11:04 pm