गतिहीन र भद्रगोल छन् स्वास्थ्यका परिषद्

काठमाडौं, बैशाख १७ । सरकार मातहत रहेका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अधिकांश परिषद् गतिहीन र भद्रगोल बन्न पुगेका छन् । ती निकायले प्रभावकारी रूपमा काम गर्न नसक्दा स्वास्थ्य क्षेत्र सुधार गर्ने सरकारी लक्ष्यमा नै गम्भीर प्रश्न सिर्जना भएको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल नर्सिङ परिषद् र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा पदाधिकारी, सदस्य र कर्मचारीको चरम अभाव छ । जसका कारण ती परिषद्ले महत्वपूर्ण काम गर्न सकेका छैनन् ।

लामो समयदेखि पदाधिकारीसहित सदस्य रिक्त हुँदा नीतिगत निर्णयमा समेत कठिनाइ देखिएको छ । प्रभावकारी ढंगले ती परिषद् अघि बढ्न नसक्दा त्यसको प्रत्यक्ष असर विद्यार्थी तथा आमस्वास्थ्य व्यवसायीमा परेको छ ।

नेपाल फार्मेसी परिषद्मा विगत ६ महिनादेखि रजिस्ट्रार नियुक्त हुन सकेको छैन । यसले परिषद्का काम ठप्पझैं छन् । रजिस्ट्रार नहुँदा काउन्सिलको परीक्षामा उत्तीर्ण विद्यार्थीको नाम दर्ता किताबमा चढ्न सकेको छैन । साथै विद्यार्थीले रजिस्ट्रेसन प्रमाणपत्र पनि पाउन सकेका छैनन् ।

परिषद्का रजिस्ट्रार पानबहादुर क्षेत्रीले राजीनामा दिएपछि अहिलेसम्म सो पद रिक्त छ । नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार परिषद्का अध्यक्ष केशवध्वज जोशीले परिषद्को बैठक नै बसालेका छैनन् । विभागका महानिर्देशक ढकालले भने, ‘म आफैं परिषद्को सदस्य छु । तर, मलाई बोलाउनुभएको छैन ।’

परिषद् नौ सदस्यीय रहने व्यवस्था छ । हाल एक रजिस्ट्रारसहित दुई सदस्य पद अझैसम्म पनि पूर्ति हुन सकेको छैन ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अवस्था पनि उस्तै छ । परिषद्बाट १ लाख १० हजार जनाले लाइसेन्स लिएका छन् । १३ सदस्यमध्ये परिषद्मा सात सदस्यीय पदपूर्ति हुन सकेको छैन । पारामेडिकल एसोसिएसनको सिफारिसमा सरकारले मनोनयन गर्नुपर्ने तीनजना सदस्य र निर्वाचनबाट आउनुपर्ने चार सदस्य रिक्त छ । परिषद्ले बहुमत नै नपु¥याएर गैरकानुनी ढंगले कलेजको अनुगमन गरिरहेको सरोकारवाला बताउँछन् । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख १७, २०७६ /Tuesday, April 30th, 2019, 6:35 am