सबैको माया र आशीर्वादले सय वर्ष पुगेँः सत्यमोहन जोशी

सत्यमोहन जोशी कला, साहित्य, संस्कृति, पुरातत्त्वको क्षेत्रमा मात्र नभएर इतिहास र राजनीतिका क्षेत्रमा पनि स्थापित नाम हो । तीन पटक मदन पुरस्कारबाट सम्मानित जोशीलाई नेपाल सरकारले उज्ज्वल राष्ट्रदीप कीर्तिमान एवम् वाङ्मय शताब्दी पुरुष घोषणा गरेको छ । वि.सं. २०७६ वैशाख ३० गतेबाट उहाँ सय वर्ष पुग्दै हुनुहुन्छ । कला, संस्कृति र परम्परालाई जोगाई राख्न सधैँ क्रियाशील रहने व्यक्ति र नेपाली कला साहित्यलाई अविच्छिन्न सहयोग गर्ने साधक तथा शताब्दी पुरुष सत्यमोहन जोशीसँग देवीदत्त पौडेलले दैनिकी न्युजका लागि गरेको कुराकानीको सम्पादित अंशः

वि. सं. २०७६ साल वैशाखबाट हजुर सय वर्ष पुग्नुभयो । यतिबेला बाल्यावस्थाका केकस्ता कुराहरू सम्झिइरहनुभएको छ ?
सानामा म लठेब्रो थिएँ रे । मेरो वाक्य फुटेन भनेर बुबाले काँधमा बोकेर मलाई सूर्यविनायक मन्दिर लिएर जानुभयो । त्यहाँ मलाई एक्लै छोडिदिनुभयो । यताउति हेरेँ आमाबाउलाई देखिनँ । त्यसपछि रोएँ, चिच्याएँ । यसरी वाक्य फुटेर अलिअलि कुराकानी गर्न सक्ने भएको भनेर पिताजी भन्नुहुन्थ्यो । त्यस समयमा पिताजी मोहन समशेरकहाँ कारिन्दाको काम गर्नहुन्थ्यो । खेल्दै, पढ्दै त्यतिखेरको समयमा बाल्यकाल बितेको मलाई सम्झना छ ।

तपाईंको शिक्षारम्भ कसरी सुरु भयो ?
वि.सं. १९८२ सालको सरस्वती पूजाका दिन मलाई पिताजीले विद्यानन्द गुरुकहाँ लिएर जानुभएको थियो । गुरुले ठूलो काठको पाटीमा खरीले हात समातेर ‘ॐ नमोवागिश्वराय’ लेख्न लगाउनुभयो । गुरुबाट अक्षराम्भ सुरु भयो अनि पिताजीले मलाई घरमै पढाउन थाल्नुभयो । सुरुमा मलाई अ, आ वर्ण सिकाइयो, त्यसपछि क, ख । पिताजीले ३२ पैसामा किनेर नेपाली शिक्षा नामक किताब ल्याउनुभयो र भाषा पाठशालामा पढाउन लानुभयो । त्यहाँ पण्डितहरूले पढ्थे, उनीहरूले नेवारी नबुझ्ने अनि मैले नेपाली । घोक्नुपर्ने तर म घोक्नै सक्दिनथेँ । बल्लबल्ल नेपाली शिक्षामा लेखिएको ‘जय जगदीश्वर जय अविनाशी, जय जय भगवान करुणाराशी’ भन्दा बढी याद गर्न सकिनँ । पाठ घोक्न नसकेको भनेर पिटाई खाएँ, ४/५ दिनपछि भाषा पाठशाला जानै छोडेँ ।

त्यसपछि विद्यालय शिक्षा कसरी अगाडि बढ्यो ?
पिताजीले मेरो छोरालाई अङ्ग्रेजी पढाइदिनु भन्दै मेरो हातमा First Book of Reading नामक किताब समाउन लगाएर अङ्ग्रेजी स्कुलमा कक्षा ९ मा भर्ना गरिदिनुभयो । त्यहाँ पनि महन्त सरले कन्सिरी समातेपछि ६/७ दिन पढेर जानै छोडेँ । अलिअलि अङ्ग्रेजी वर्ण लेख्न र भन्न जानेको देखेर दरबार हाई स्कुलमा कक्षा ८ मा भर्ना गरिदिनुभयो । त्यसपछि पढाइ क्रमशः अगाडि बढ्दै गयो । वि.सं. १९९६ सालमा प्रवेशिका परीक्षा पनि दरबार हाई स्कुलबाटै उत्तीर्ण गरेँ ।

तपाईंलाई दरबार हाई स्कुलमा पढ्दाखेरीका कुनै अविस्मरणीय घटना याद छ ?
त्यतिखेर इन्द्रजात्रा, गाईजात्राका बेलामा नाटक मञ्चन गरिन्थ्यो । पश्चिमी थियटरको प्रभाव बढी थियो । वि.सं. १९९५ सालमा बालकृष्ण सम दरबार हाई स्कुल आएर नेपालीमा प्रशिक्षण दिनुभयो । विद्यालयले वार्षिक उत्सव मनाउने र मुकुन्द इन्दिरा नाटक मञ्चन गर्ने कुरा भयो । विद्यालयमा छोरीहरूलाई पढ्न नपठाइने भएकाले इन्दिराको भूमिका केटा मान्छेले नै गर्नुपर्ने भयो । रुप केशरीलाई इन्दिरा र कृष्णप्रसाद रिमाललाई मुकुन्द बनाएर नाटक देखाइयो । पश्चिमी थियटरको प्रभावलाई पहिलो पटक चुनौति दिँदै रङ्गीचङ्गी पर्दालाई कालो पर्दा, उर्दूको गीतलाई नेपाली, उर्दू भाषाको संवादलाई नेपालीमा बनाएर मुकुन्द इन्दिरा नाटक देखाइएको झलझली याद आउँछ । नाटक मञ्चनपश्चात् बालकृष्ण सम कप्तानबाट मेजर कप्तान र हेडसर रुद्रराज पाण्डे गोरखा दक्षिण बाहुबाट सम्मानितसमेत भएका थिए ।

साहित्यतर्फ तपाईको रुचि कसरी बढ्न थाल्यो ?
मलाई दरबार हाई स्कुलमा पढुन्जेल साहित्यकार, कवि कसैका बारेमा थाहा थिएन । बालक बबुरो भनेर कविता पढ्नुपथ्र्यो तर लेखनाथ भन्ने थाहा थिएन । रामायणको सुन्दरकाण्ड पढ्नुपथ्र्यो तर भानुभक्त आचार्य भन्ने थाहा थिएन । हेडसर रुद्रराज पाण्डेले एसफका कथा पढ्न दिनुभयो । एक मोहरमा रुपमति उपन्यास किनेर पढ्न दिनुभयो । भूगोल पढाउने शिक्षक नेत्रबहादुर थापाले मेरो साथी भन्दै भीमनिधि तिवारीलाई चिनाएपछि मात्र पहिलो पटक साहित्यकारको मुख देखेको थिएँ । पं. कोमलनाथ अधिकारीले कोमला गीता पढ्नु भनेर दिनुभयो । त्रिचन्द्र कलेजमा संस्कृत भाषामा लेखिएका कालीदासका रघुवंशलगायतका किताब पढ्दा छन्दको प्रयोग र संस्कृत भाषासम्बन्धी ज्ञान पनि भयो । फ्रेन्च स्टोरी पढ्ने मौका पनि पाइयो । यसरी विभिन्न किताबहरू पढ्दै जाने क्रममा साहित्यतर्फ रुचि बढ्दै जान थाल्यो ।

तपाईं त जागिरे पनि हुनुहुन्थ्यो, होइन र ?
हो, औद्योगिक व्यापारिक समाचार अड्डामा मैले वि.सं. २००१ सालदेखि जागिरे जीवन प्रारम्भ गरेँ । मेरो कार्य क्षेत्र तनहुँ र लमजुङ थियो । काठमाडौँमा हुर्केबढेको मान्छे त्यहाँ धेरै गाह्रो भयो । दुःख पाइयो, औलो लाग्यो । बल्लबल्ल बाँचेँ । फर्केर आउन नपाइने भएकाले बस्नु बाध्यता नै थियो । बस्तै जाँदा त्यहाँको जनजीवन, भाषासंस्कृतिले मेरो जीवनमा नयाँ मोड नै ल्याइदियो ।

‘जीवनमा नयाँ मोड नै ल्याइदियो’ भन्नुभयो । खासमा त्यो के थियो ?
पँधेरामा गयो त्यहाँ गीत गाइरहेका, देउरालीतिर त्यहाँ अ‍ोहोरदोहोर गर्नेले गीत गाइरहेका, वनजङ्गलतिर दाउरा घाँस गर्नेले गीत गाइरहेका, चौतारीमा दोहोरी गीत गाइरहेका, बेलुका भजन र चुड्का गाइरहेका भेटिन्थे । यो लोक माहोलले मेरो मनलाई छोएको थियो । क्रमशः मभित्र लोक संस्कृतिको संरक्षण गर्नुपर्ने भावना जागृत भयो । जसलाई मैले जीवनको नयाँ मोडको प्रारम्भबिन्दु मान्दै आएको छु ।

त्यहाँ गाइएका लोक गीतहरूको सम्झना छ हजुरलाई ?
एक ठाउँमा गीतले मन छोयो ।

के खायो रेलिमाई के लायो होला ?
मेरो माया रेलिमाई जुरेली चरीले ।

आजभोलि रेलिमाई किन हो किन ?
मन त मेरो रेलिमाई डाँडाको बतास ।

नकरा वनको न्याउली
तिमीभन्दा म छु नि वैरागी ।

यी गीत टिपेपछि मेरो लोक संस्कृतितर्फको यात्रा प्रारम्भ भएको हो । बाँसको कलमले मसीमा चोबेर नेपाली कागजमा लेखेँ । मैले बुझेर होइन काम लाग्ने होला भनेर त्यसो गरेको थिएँ । दोस्रो विश्वयुद्धका बेलामा गुरुङ र मगर गाउँ पुरुषविहीन भएका थिए । त्यसबेला गाइएको यस गीतले झन् मेरो मन छोयो–
गाई पाल्यो रेलिमाई वनको बाघलाई
छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई ।

यी लोक गीतहरू सङ्कलन गरेर के गर्नुभयो ?
सङ्कलित गीतहरूलाई समावेश गरेर हाम्रो संस्कृति नामक ग्रन्थ तयार पारेँ । वि.सं. २०१२ सालमा रानी जगदम्बाले आफ्ना श्रीमान् मदन समशेरको नाममा मदन पुरस्कार गुठी स्थापना गरेपछि पुरस्कारका लगि सूचना निस्कियो । मेरो कृति नभए पनि आए आँप गए झटारो भनेझैँ हाम्रो संस्कृति नाम राखेर पेस गरेँ । अन्ततः उक्त ग्रन्थले २०१३ सालको मदन पुरस्कार प्राप्त गर्यो ।

पहिलो पटक मदन पुरस्कार प्राप्त गर्दाको क्षण कसरी सम्झिनुहुन्छ ?
मदन समशेरको यति लामो बैठक, सेतो लामो तन्ना बिच्छ्याइएको । पण्डित सोमनाथ सिग्देल, कविशिरोमणि लेखनाथ पौड्याल, नाटककार बालकृष्ण समलगायत सारा कवि, लेखक, पण्डितहरू भेला भएका थिए । एकातिर पण्डित सोमनाथ सिग्देल अर्कोतर्फ लेखनाथ पौड्यालले मलाई समातेर लिएर गए अनि रानी जगदम्बालाई हाम्रो संस्कृति भन्ने ग्रन्थका लेखक यिनै हुन् भनेर चिनाए । रानी जगदम्बाको हातबाट पुरस्कार पाएपछि मलाई मन्तव्य राख्न भनियो । ‘कसले रच्यो, कसको गीत हो मलाई थाहा छैन । मालीको काम मैले गरेको हुँ । यो पुरस्कार तिनै गाउँलेलाई समर्पण गर्न चाहन्छु’ भनेँ । यसरी म जागिरदारबाट साहित्यकार बने । साराले मलाई चिने ।

दोस्रो र तेस्रो पटक कहिले पाउनुभयो मदन पुरस्कार ?
दोस्रो पटक २०१७ सालमा राष्ट्रिय मुद्रा नामक ग्रन्थलाई र तेस्रो पटक २०२८ सालमा कर्णाली लोक संस्कृति नामक ग्रन्थका लागि मदन पुरस्कार प्राप्त भएको थियो ।

तपाईं सिन्जा खोला उपत्यका जानुभएको थियो ? कहिले र किन जानुभएको थियो ?
एकेडेमीमा कुलपति केदारमान बेथित हुनुहुन्थ्यो । म सहप्राज्ञका रूपमा काम गर्थेँ । उहाँले सूर्यविक्रम ज्ञवाली, चूडानाथ भट्टराई, धर्मराज थापा र मलाई बोलाउनुभयो । सबैलाई आआफ्नो रुचिको क्षेत्र सोधियो । मलाई रुचि लाग्ने लोक गीतका क्षेत्रमा धर्मराज थापाले काम गर्ने भएपछि मैले नेपाली भाषाको व्युत्पत्ति थलो सिन्जा खोला उपत्यकाका बारेमा अध्ययन गर्छु भनेँ । सबै हाँसे । साथीहरूले मर्न जाने हो र भने । केदानमान बेथितले फेरि सोध्नुभयो । पाए त त्यही जाने हो भनेँ । वि.सं. २०२७ सालमा बिहारीकृष्ण श्रेष्ठ, चूडामणि बन्धु, स्थिर जङ्गबहादुर सिंह, प्रदीप रिमाल र म सिन्जा खोला उपत्यका गयौँ । संयुक्त रूपमा कर्णाली लोक संस्कृति नामक ग्रन्थ तयार पा-यौँ, जसले २०२८ सालमा मदन पुरस्कार प्राप्त गर्यो ।

जीवनमा आफूलाई मन परेको घटना सम्झनु पर्दा कुनलाई सम्झनुहुन्छ ?
सिन्जा खोला उपत्यका जाने क्रममा मैले त्यतिबेलाका अञ्चलाधीश बद्रिविक्रम थापासँग मद्दत मागेँ । उनले त्यहाँ गएर केही गर्न सक्नुहुन्न भने । ‘गयो डोटी खायो राटी, फर्किँदाखेरी धोती न टोपी ’ भन्दै यो कर्णाली अञ्चल हो, जुम्लेलीहरूले फेला पार्छन् भने । हामी जसरी भए पनि जाने भएपछि एउटा बाटो देखाउने मान्छे दिए । नभन्दै हामी त्यहाँ पुगेपछि जुम्लेलीहरूले छामछाम छुमछुम गरे । उनीहरूसँग कुराकानी राम्ररी गरेपछि हाम्रै भलाइका लागि, उत्पीडन अन्त्यका लागि हो रहेछ भन्ने बुझे अनि हामीलाई मरिमेटेर सहयोग गरे । मैले कला र संस्कृतिमा ऐतिहासिक प्रभाव, बिहारीकृष्ण श्रेष्ठले संस्कृतिमा आर्थिक सामाजिक प्रभाव, चूडामणि बन्धुले संस्कृतिमा भाषावैज्ञानिक प्रभाव, स्थिर जङ्गबहादुर सिंहले संस्कृतिमा भौगोलिक प्रभाव र प्रदीप रिमालले संस्कृतिमा लोकभाकाको प्रभाव लेखेर पाँच ओटा भोलम तयार भयो । उक्त ग्रन्थलाई कर्णालीको लोक संस्कृति नाम दिइयो । नेपाली भाषाको व्युत्पत्ति थलो सिन्जा खोला उपत्यका गएको र त्यहाँ गरेको कामको प्रभाव मेरो जीवनमा बढी परेको छ ।

बिहान र दिउँसोको दिनचर्या कसरी बित्छ ?
पहिलेको जस्तो लेख्न सक्दिनँ । आँखाले काम गर्दैन । हात चलाउन गाह्रो हुन्छ । कुराकानी गर्ने, भेटघाट गर्ने, कार्यक्रमका बोलाएको ठाउँमा जाने । यसरी नै बिहान र दिउँसो बितिरहेको छ ।

बेलुका कति बजे सुत्नुहुन्छ ?
प्रायः बिबिसी सुनेपछि सुत्छु । बिहान ५ः३० बजेतिर उठ्छु ।

तपाईं स्वस्थ रहनुको रहस्य बताइदिनुहोस् न ?
आमाको दुध बेस्सरी चुसेर । अघिपछि जुरेलीको दर्शनलाई पछ्याएँ । सादा जीवन अपनाएको छु । चिन्ता पटक्कै लिन्नँ । चिन्तनचाहिँ गर्ने, चिन्ताचाहिँ नलिने ।

स्वस्थ रहन र बढी उमेरसम्म बाँच्न सिर्जनशील र सक्रियताले पनि भूमिका खेल्छ कि खेल्दैन ?
‘म को हुँ, म किन आएँ, मैले के गर्नु छ, मैले के दिनु छ’ आदि दर्शनमा चिन्तन मनन गर्छु । जुरेलीको जीवन मेरा निम्ति पथप्रदर्शक । केही भूमिका खेल्छजस्तो लाग्छ ।

यो उमेरमा पनि नेपाली कला, संस्कृति, साहित्यलाई अविच्छिन्न रूपमा सहयोग गर्दै हुनुहुन्छ । तपाईंलाई कुन कुराले बल पु-याइरहेको छ ?
त्यही जुरेलीको दर्शनले, “के खायो रेलिमाई के लायो होला ? मेरो माया रेलिमाई वनको जुरेली चरीले ।”

आजभन्दा ९० वर्ष अगाडिको काठमाडौँ सहर कस्तो थियो ?
साधारण जीवनशैली, पातला घरहरू । गाडी थिएन हिँडे जानुपथ्र्यो । कहिले पाटनबाट, कहिले महाराजगञ्जबाट हिँडेर एक घन्टा हिँडेर दरबार हाई स्कुल जान्थेँ । खेल्ने ठाउँ धेरै थिए । खेतीपाती गरिन्थ्यो ।

अति सङ्क्षिप्त रूपमा बताइदिनुहोओस् । तपाईंका विचारमा भाषा के रहेछ ?
विचार सम्प्रेषण गर्ने माध्यम ।

कला के रहेछ ?
सौन्दर्य । बाँच्ने, जिउने जीवन पद्धति

संस्कृति के रहेछ ?
आफ्नो पहिचान

योग के हो ?
ध्यान हो । परमात्मा र जीवात्माको मेल हुने माध्यम हो ।

देश बनाउन कुन कुरा चाहिन्छ ?
चरित्र राम्रो हुनुपर्छ । देश मेरो हो भन्ने भावना राख्नुपर्छ । जननी र जन्मभूमिलाई समान रूपमा हेर्न सक्नुपर्छ । अरूबाट लिने मात्र होइन दिन पनि सक्नुपर्छ ।

अन्तिममा केही भन्न चाहनुहुन्छ ?
नइ प्रकाशनले बायोग्राफीमा शताब्दी पुरुष लेखिदियो । मैले विरोध गरेँ । ९५ वर्ष पुग्नुभयो ५ वर्ष ग्रेस दिएको भनेर किताब छाप्यो । पछि सरकारले सच्याएर वाङ्मय शताब्दी पुरुष भनेर सम्मान गर्यो । २०७६ साल वैशाख ३० गते सय वर्ष टेक्छु । सबैको माया र आशिर्वादले एक सय वर्ष पुगेँ । लोकप्रिय अनलाईन पत्रिका दैनिकीन्युज मार्फत मलाई माया गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।

प्रकाशित मिति: सोमवार, बैशाख १६, २०७६ /Monday, April 29th, 2019, 8:09 am