खल्तीले पायो नेपाल राष्ट्र बैंकबाट अनुमती

खल्ती डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमति पत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘खल्ती’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।

डिजिटल भुक्तानीका साथै अब खल्ती मार्फत आन्तरिक मनि ट्रान्सफर र अन्य विभिन्न किसिमका मोबाईल वित्तीय सेवाहरू पनि उपलब्ध हुनेछन् । नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो ।

कम्पनीका प्रबन्ध निर्देशक मनिष मोदीले ग्रामिण भेगमा बिजुलीको महसुल तिर्ने जस्ता सामान्य कार्यको लागि सयौँ रुपैयाँ र पूरा दिन खर्च गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता खल्तीले अन्त्य गरेको बताए।

राष्ट्र बैंकको यो अनुमतिले थप उर्जा प्रदान गरेका बताउँदै मोदीले देशका हरेक कुनाबाट सरकारको बैंकिङ पहुँचमा नरहेको दूरदराजको जनसंख्यालाई समेत वित्तीय सेवा प्रदान गर्ने र उनीहरुको जीवन सरल बनाउने दाबी गरे।

सुरुवात देखि नै खल्ती नविनतम प्रविधि तथा सेवा मार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत रहेको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको आधिकारिक लाईसेन्स प्राप्त गरेपछि डिजिटल माध्यमबाट प्रदान गरिने सेवालाई अर्को तहमा पुर्याउन यस कम्पनी थप उत्प्रेरित बनेको विज्ञप्तिमा जनाइएको छ । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन खल्तीको ध्यान केन्द्रीत हुने खल्तीले जनाएको छ ।

खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्न सकिन्छ ।

यसैगरी, इ–कमर्स( अनलाइन सपिङ ) मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने लगायत अन्य थुप्रै सेवा लिन सकिन्छ । साथै, खल्ती एप प्रयोग गरी साना–ठूला खुद्रा पसलमा क्यु–आर कोड मार्फत मोबाईलबाटै पैसा तिर्न सकिन्छ । हाल खल्ती प्रयोगकर्ताको संख्या ८ लाख भन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
खल्ती एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस

प्रकाशित मिति: बुधबार, बैशाख ११, २०७६ /Wednesday, April 24th, 2019, 6:51 pm