एकलाख सात हजार शिक्षक पालिकामा खटाइने

डडेल्धुरा,बैशाख ८ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षक भर्ति गर्ने सबै अधिकार स्थानीय सरकारलाई दिन नसकिने बताएका छन ।
‘शिक्षक भर्तिको सबै अधिकार स्थानीय सरकारलाई संविधानले पनि दिएको छैन,’ उनले भने, ‘विगतमा हामीले खल्तीबाट जसलाई मनलाग्यो उसलाई शिक्षक बनाइदियौं त्यसले समस्या नित्यायो। अब त्यस्तो हुँदैन। गुणात्मक शिक्षाका लागि शिक्षक सेवा आयोगबाटै शिक्षक भर्ति गरिन्छ।’
स्थायी शिक्षकहरुलाई गाउँपालिका र नगरपालिका मातहत समायोजन गर्ने पनि उनले बताएका छन्। दरबन्दी मिलान प्रतिवेदन मन्त्रिपरिषदमा लगेको उनले बताए। ‘एक लाख सात हजार स्थायी शिक्षकलाई पालिका तहमा छिट्टै पुर्‍याउँछौं,’ उनले भने।
संविधानले नै स्थानीय तहलाई दिएको शिक्षासम्बन्धी अधिकार केन्द्रले नखोस्ने प्रष्टाए ।
‘स्थानीय सरकारका साथीहरुले चिन्ता नलिनुहोला। संघीयतामा जान भूमिका खेलेको नाताले पनि संघीयता कार्यान्वयनमा म लाग्छु। स्थानीय तहमा आएको शिक्षाको अधिकार खोस्न संविधानअनुसार नै मिल्दैन,’ डडेलधुरालाई आइतबार ५० औं साक्षर जिल्ला घोषणा गर्दै मन्त्री पोखरेलले भने।

प्रकाशित मिति: आइतवार, बैशाख ८, २०७६ /Sunday, April 21st, 2019, 10:29 pm