कति आवेदन पर्यो साञ्जेन र रसुवागढीको आईपीओमा ?

काठमाडौं, वैशाख ७ । शुक्रवारदेखि सर्वसाधारणका लागि जारी गरेको साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीको आईपीओमा लगानीकर्ताहरुको उत्साहजनक सहभागित देखिएको छ । विक्री खुला भएको पहिलो दिनमै साञ्जेनको आईपीओ २६ प्रतिशत बिकेको छ ।

पहिलो दिन शुक्रवारसम्म २४ हजार आवेदकबाट १३ लाख कित्ता शेयर खरीदको माग परेको विक्री प्रबन्धक नागरिक लगानीकोषका प्रबक्ता उद्धब सिलवालले जानकारी दिए । साञ्जेनले कुल ५४ लाख ७५ हजार कित्ता आईपीओ मध्ये २ लाख ७३ हजार ७५० कित्ता शेयर म्युचुअल फण्डहरुलाई बाँडफाँट गरी २ लाख १९ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई संरक्षण पश्चात बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको आईपीओमा पहिलो दिनमै करीब १९ प्रतिशत शेयर खरीदको आवेदन परेको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका चिफ अपरेटिङ अफिसर सन्दिप कार्कीका अनुसार रसुवागढीको आईपीओमा २६ हजार ३३४ जना आवेदकबाट रू। १७ करोड ३८ लाख ८ हजार बराबरको १७ लाख ३८ हजार ८० कित्ता शेयर खरीदको लागि आवेदन प्राप्त भएको छ ।

रसुवागढी हाइड्रोपावरले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता आईपीओ मध्ये ४ लाख १३ हजार १५७ कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरीे ५ लाख १३ हजार १५७ कित्ता म्युचुअल फण्डहरुलाई बाँडफाँट पश्चात बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

यी दुवै आयोजना पनि जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सामेल भएका छन् । साञ्जेन र रसुवागढीको आईपीओ निष्कासनसँगै जनताको जलविद्युत अन्तर्गतका तीन आयोजनाले सर्वसाधारणलाई आईपीओ विक्री गर्नेछन् । यसअघि त्रिशुली जलविद्युत कम्पनीले उक्त कार्यक्रम अन्तर्गत आईपीओ विक्री गरेको थियो । नेपाल धितोपत्र बोर्डले लागू गरेको न्यूनतम १० कित्ता आवेदन दिन पाउने व्यवस्था बमोजिम यी दुवै कम्पनीले यसअघि घोषणा गरेको न्यूनतम ५० कित्ताको व्यवस्थालाई परिवर्तन गरी विक्री खुला गरेका हुन् ।

प्रतिकित्ता न्यूनतम मूल्य रू। १०० रहेको रसुवागढीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म र साञ्जेनको न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । दुवै कम्पनीको शेयर छिटोमा वैशाख १० र ढिलोमा जेठ ५ गतेसम्म विक्रीमा रहने आव्हान पत्रमा उल्लेख छ । यी दवैै कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १० गते स्वीकृति पाएका थिए ।

यी कम्पनीहरुले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलाई आईपीओ विक्री गरिसकेका दुवै कम्पनीले आयोजना प्रभावित स्थानियलाईभन्दा पहिला सर्वसाधारणको लागि शेयर विक्री गरेका हुन् ।
रसुवा जिल्लामा साञ्जेनले १४।८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२।५ मेगावाट क्षमताको साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । यी आयोजना चिलिमे जलविद्युत कम्पनी अन्तर्गत निर्माण भईरहेका आयोजना हुन् ।

साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीका आयोजनाको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको कम्पनीले जानकारी दिएको छ । रसुवागढीको निर्माणाधित आयोजनको प्रतिमेगावाट लागत रू. १५ करोड १२ लाख २४१ रहेको छ । भने साञ्जेनको दुवै आयोजनाको प्रतिमेगावाट लागत रू. १५ करोड रहेको छ ।

साञ्जेनको प्रतिशेयर नेटवर्थ गत आर्थिक वर्षसम्म रू. ९६ दशमव ३२ रहेको छ भने रसुवागढीको रू। ९७ दशमलव २९ रहेको छ । हाल रू. ५ अर्ब १३ करोड १५ लाख ७५ हजार चुक्तापूँजी रहेको रसुवागढीको यो आईपीओ पश्चात रू. ६ अर्ब १५ करोड ७८ लाख ९० हजार पुग्नेछ । त्यस्तै हाल रू. २ अर्ब ७३ करोड ७५ लाख चुक्तापूँजी रहेको साञ्जेनको आईपीओ पश्चात चुक्तापूँजी रू. ३ अर्ब २८ करोड ५० लाख पुग्नेछ । आर्थिक अभियानबाट

प्रकाशित मिति: शनिबार, बैशाख ७, २०७६ /Saturday, April 20th, 2019, 7:42 am