तयार हुनुहोस, आइतबार र सोमबारदेखि दुई लघुवित्त कम्पनीको आईपीओ निष्काशन हुँदै

काठमाडौं, वैशाख ६ । नेपाल एग्रो लघुवित्त र गणपति लघुवित्तको आईपीओको बिक्री बैशाख ८ (आइतबार) र वैशाख ९ गते (सोमबार) देखि खुला हुने भएको छ ।

नेपाल एग्रो लघुवित्त
नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सर्वसाधारणको लागि छुट्याएको १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ लघुवित्त कम्पनीले निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा बैंशाख ११ गते र ढिलोमा जेठ ६ गते हुनेछ

लघुवित्त कम्पनीले निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंङ्किङ्ग लिमिटेडलाई नियुक्ति गरेको छ ।

न्युनतम १० देखि अधिकतम ८ सय कित्तासम्म आवेदन दिन पाइने विक्री प्रबन्धकले जनाएको छ । निष्कासन मध्ये २ हजार ४८९ कित्ता संस्थाका कर्मचारी र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

संस्थाको हालको चुक्ता पूँजी ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ४ करोड ९७ लाख रुपैयाँ पुग्नेछ।

दुई वर्ष अगाडि स्थापना भएको संस्था चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकबाट नाफा देखिन थालेको छ। संस्थाले पुससम्ममा ७२ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ३७ करोड ७९ लाख रुपैयाँ बरोइङ र १४ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरि ४९ करोड १० लाख रुपैयाँ ऋण लगानी गरेको छ।

केन्द्रीय कार्यालय कास्की जिल्लाको पोखरामा रहेको छ । यसले पश्चिम नेपालको कास्की, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, सल्यान, प्युठान, रोल्पा, तनहुँ, लम्जुङ जिल्ला कार्यक्षेत्र रहेर सेवा प्रदान गरिरहेको छ ।

संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा सञ्चालन गर्दै आएको छ।

गणपति माइक्रोफाइनान्स
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) वैशाख ९ गतेदेखि निष्काशन गर्ने भएको छ । माइक्रोफाइनान्सले सर्वसाधारणका लागि छुट्याएको ३ लाख १३ हजार ७५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । उक्त शेयर छिटोमा वैशाख १२ गते र ढिलोमा जेठ ७ गते बन्द हुनेछ ।

बिक्री गर्न लागेको साधारण शेयरमध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई र १६ हजार ७५० कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ३ लाख १३ हजार ७५ कित्ता सर्वसाधारणका लागि खुल्ला गरिने बताइएको छ ।

उक्त शेयरका लागि १० कित्ता मात्रै पनि आवेदन गर्न सकिन्छ । गणपतिले निष्काशन गरेको आईपीओमा न्युनतम १० कित्तामा पनि आवेदन दिन सकिनेछ । बढीमा भने १ हजार ५ सय कित्ता आवेदन गर्न सकिन्छ ।

केयर रेटिङ ग्रेड चार प्राप्त गरी औसत भन्दा कमजोर आधार देखिएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि। को अधिकृत पूँजी रु।२० करोड, जारी पूँजी रु।१० करोड र चुक्ता पूँजी रु।७ करोड रहेको छ, भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु। १० करोड हुनेछ ।

२०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।

दुलेगौढा, तनहुँमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् १० हजार ४२८ विपन्न वर्गका समूहहरुलाई रु। ५६ करोड कर्जा प्रवाह गरेको छ ।

गणपतिले निष्काशन गरेको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सिआश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ६, २०७६ /Friday, April 19th, 2019, 8:34 am