खोकनाको बाज पाटी पुनर्निर्माण गर्न सनराइज बैंकको सहयोग

ललितपुर, वैशाख २ । ललितपुर महानगरपालिका खोकनास्थित ऐतिहासिक बाज पाटी पुनर्निर्माण हुने भएको छ । महानगरको वडा नं २१ मा रहेको उक्त पाटी सनराइज बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण हुन लागेको हो । खोकनाको प्रसिद्ध रुद्रायणी मन्दिर अगाडि रहेको उक्त पाटी पुनर्निर्माणका लागि बैंकले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

रुद्रायणी मन्दिरमा नित्यपूजा र विशेष पूजा हुँदा बिहान, बेलुका उक्त पाटीमा बसेर बाजा बजाउने गरिन्थ्यो । २०७२ सालको भूकम्पले बाज पाटी बस्न नमिल्ने गरि भत्कियो । पाटी भत्किएपछि भर्जन किर्तन गर्न बाधा पुगेको स्थानीयले बताए । ललितपुर महानगरपालिका वडा २१ र सनराइजबैंकले संयुक्त रुपमा सोमबार आयोजना गरेको कार्यक्रममा चेक हस्तान्तरण गरिएको हो ।

प्रतिनिधिसभा सदस्य पम्फा भुसालले खोकना ऐतिहासिक ठाउँ भएकाले पर्यटक आकर्षिक गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने बताइन् । उनले पर्यटकलाई यहाँको सम्पदा र संस्कृतिक बुझाउन गाइडको व्यवस्था गनुपर्ने धारणा राखिन् ।

यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ऐतिहासिक महत्वको ठाउँ खोकना पर्यटकीय दृष्टिले धेरै संभावना बोकेको सहर भएको बताए । पर्यटकलाई आकषर्ण गर्न यहाँको सम्पदा र कला संस्कृतिको संरक्षण गर्न विशेष कार्यक्रम ल्याउने बताए । खोकनाको पुनर्निर्माणमा सनराइज बैंकले देखाएको चासोको प्रसंशा गरे । उनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सुरु गरेको यो कामलाई निरन्तरता दिन अनुरोध गरे । महानगरले पछाडि जोडिन आएका वडाहरुलाई अन्य वडालाई भन्दा बजेट विनियोजन धेरै गरेको बताए । अन्य वडा सरह पछि गाँभिएका वडाहरुमा विकास समान रुपमा होस् भन्ने अभिप्रायले बढी बजेट विनियोजन गरेको उनको जिकिर थियो ।

वडा अध्यक्ष रविन्द्र महर्जनले मूर्त र अमूर्त सम्पदाहरुले खोकना धनी भएको बताउँदै भूकम्पले भत्काएका सम्पदाहरु पहिलेकै अवस्थामा पुर्निर्माण गर्नु चुनौतिपूर्ण भएको बताए । पुनर्निर्माणमा सनराइज बैकले देखाएको चासोको प्रसंसा गर्दै यस्तो सहयोगले सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

बैंकका कार्यकारी प्रमुख अधिकृत रत्नराज बज्रचार्यले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पाटीको पुनर्निर्माणमा सहयोय गरेको बताए । सम्पदा मुलुकको महत्वपूर्ण गहना भएको बताउँदै यसको संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताए ।

वडा सदस्य ज्ञानभक्त महर्जनले खोकनाका सम्पदालाई पुनर्निर्माण गरी पर्यटक आकर्षण गर्न सके त्यसबाट खोकनाको आर्थिक समृद्धि छिटै संभव हुने दाबी गरे । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

पाटी पुननिर्माण गर्नलको लागि विष्णु भक्त डंगोलको अध्यक्षमा पाटी निर्माण उपभोक्ता समिति बनाएको छ । उक्त पार्टी निर्माण गर्न २६ लाख ५० हजार ८७९ रुपैयाँ लाग्ने अनुमान र २०७६ साल जेठ ३० गतेसम्म सक्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २, २०७६ /Monday, April 15th, 2019, 5:46 pm