सरकारले वृद्धभत्ता बढाउने, अरु के- के मा बढ्दैछ !

काठमाडौ, बैशाख १ । सरकारले आगामी बजेटमा वृद्धभत्ता बढाउने भएको छ । प्रधानमन्त्री केपी ओलीले आगामी बजेटमा सरकारले वृद्धभत्ता बढाउने जानकारी दिएका हुन । यसवर्षको बजेट जेठ १५ भित्रै ल्याउने गरि सरकारले तयारी गरेको छ । अघिल्लो वर्ष बजेट नबढाएकोमा आलोचित भएको सरकार यसवर्ष भारी मात्रामा वृद्धभत्ता बढाउने गृहकार्यमा लागेको हो । जेष्ठ नागरिक स्वास्थ्यबिमा राष्ट्रिय अभियानको आइतबार काठमाडौमा शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेका हुन्।
‘यो बूढाबूढीको भलो चिताउने सरकार हो’, प्रधानमन्त्री ओलीले भने, ‘यसपालिको बजेटमा वृद्धभत्ता बढ्छ। ढुक्क भए हुन्छ।’ प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालीन एमाले सरकारले वृद्धभत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए। ‘पहिला पहिला बूढाबूढी कतिवर्ष पुग्नुभयो भन्दा ६८ भन्थे, अब कति बाँचिएला र भन्थे’, प्रधानमन्त्री ओलीले भने, ‘यतिबेला वृद्धभत्ता पाउन अब दुई वर्ष बाँकी छ भन्छन्। वृद्धवृद्धाहरूमा जीवनप्रतिको आशा बढेको छ।’
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताउँदै असहायको सहारा सरकार हुने दाबी गरे ।
प्रधानमन्त्रीओलीले स्वास्थ्य बिमा कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा ठूलो भरथेग गर्ने बताउनुभएको छ। ‘हामी नेपाललाई केही वर्षभित्रै निरोगी नेपाल, स्वास्थ्य नेपाल बनाउँदै छौं,’ प्रधानमन्त्रीले भने, ‘यसका लागि हाम्रो खानपानलाई विषादीरहित बनाउनुपर्छ।’

प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकलाई कार्यक्रममा स्वास्थ्य बिमा कार्ड वितरण गरेका छन्। यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली र सासू धनमाया शाक्यले बैंक खाता खोलेका छन्।

प्रकाशित मिति: आइतवार, बैशाख १, २०७६ /Sunday, April 14th, 2019, 9:32 pm