निजी स्कुलमा सन्दर्भ सामग्री पाठ्यपुस्तकका रुपमा

काठमाडौँ, वैशाख १ । आर्थिक चलखेलका कारण निजी विद्यालयहरूले सन्दर्भ स्रोत सामग्रीलाई पाठ्यपुस्तकका रूपमा प्रयोग गर्ने गरेका छन् ।

शिक्षा ऐन र नियमावलीमा सरकारले तोकेका पाठ्यपुस्तक अनिवार्यरूपमा पठनपाठन गर्नुपर्ने स्पष्ट व्यवस्था छ । पाठ्यक्रम विकास केन्द्रले तयार गरेका पाठ्यपुस्तक सामुदायिक विद्यालयमा मात्र पठनपाठन हुने गरेको छ भने निजी विद्यालयहरूले सन्दर्भ स्रोत सामग्रीलाई नै पाठ्यपुस्तकका रुपमा पढाउँदै आएका छन् ।

जनक शिक्षा सामग्रीले छापेका पाठ्यपुस्तकभन्दा निजी प्रकाशकले छापेका पाठ्यपुस्तक निकै महँंगो हुने गरेको छ । निजी प्रकाशकले आफ्ना पुस्तक प्रयोग गरिदिएवापत निजी विद्यालयलाई कमिसनसमेत दिने गरेको छ । यसले गर्दा अभिभावकहरू आर्थिकरुपमा मारमा पर्दै आएका छन् ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा। लेखनाथ पौडेलले सन्दर्भ सामग्रीलाई नै पाठ्यपुस्तकका रूपमा प्रयोग गर्न दिने चलन पहिलेदेखि नै रहेको बताउँदै भन्नुभयो, “हामीले तयार गरेका पाठ्यपुस्तक प्रयोग गर्नुपर्ने हो, तर पहिलेदेखिकै चलन भएकाले हामीहरुकै पाठ्यपुस्तक प्रयोग गर भनेर भन्न सकिने अवस्था रहेन ।”

निजी प्रकाशकले आफूले तयार गरेका सन्दर्भ सामग्रीलाई प्रयोगमा ल्याउन केन्द्रबाट स्वीकृति लिनुपर्ने हुन्छ । हरेक तीन वर्षमा स्वीकृति नवीकरण गर्नुपर्ने प्रावधान छ । केन्द्रले प्रारम्भिक बाल विकासदेखि कक्षा १० सम्मका सन्दर्भ सामग्रीलाई स्वीकृति प्रदान गर्दै आएको छ ।

शिक्षा सेवाका कतिपय कर्मचारीहरुले निजी प्रकाशन गृह सञ्चालन गर्दै आएका छन् । त्यस बाहेक निजी प्रकाशकले छापेका सन्दर्भ सामग्रीको लेखन कार्यमा समेत शिक्षा सेवाका कर्मचारी रहेका छन् भने कतिपय त्यस्ता सामग्रीमा सल्लाहकार भनी उनीहरूको नाम छापिएको देख्न पाइन्छ ।

संस्थागत विद्यालय सञ्चालन मापदण्डमा सरकारले तोकेका पाठ्यपुस्तकमात्र पढाउनुपर्ने र विद्यालयले चाहेमा बढीमा चार वटासम्म सन्दर्भ सामग्री प्रयोग गर्न सकिने स्पष्ट व्यवस्था छ । सो मापदण्ड तयार गर्ने कार्यदलमा समेत रहनुभएका नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले असल नियतभन्दा पनि कमाउ नियतले सन्दर्भ सामग्री प्रयोग गर्ने चलन रहेको बताउनुभयो ।

निजी विद्यालयका सञ्चालकहरूले सरकारले तयार गरेको पाठ्यपुस्तक पर्याप्त नरहेको र कागजमा समेत गुणस्तर नभएकाले प्रयोग नगरिएको तर्क गर्दै आएका छन् । निजी विद्यालयहरूले सरकारले तयार गरेकामध्ये अनिवार्य अङ्ग्रेजी र नेपाली विषयको मात्र पाठ्यपुस्तक प्रयोग गर्ने गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का उपाध्यक्ष गोपाल आचार्यले सरकारले अङ्ग्रेजी माध्यममा पाठ्यपुस्तक तयार गरिदिने हो भने आफूहरुले तिनै पाठ्यपुस्तक प्रयोग गर्ने थियौँ भन्दै थप्नुभयो, “सरकारले तयार गरेको पाठ्यपुस्तकमा गुदी राम्रो छैन । अपर्याप्त सामग्रीले मात्र पढाएर पुग्दैन । त्यसमाथि सरकारले पुनःउत्पादित कागजमा पाठ्यपुस्तक छाप्ने गरेको छ ।”

केन्द्रका महानिर्देशक डा. पौडेलले केन्द्रले तयार गरेका पाठ्यपुस्तक कमजोर नभएको दावी गर्नुहुन्छ । “केन्द्रले तयार गरेका पाठ्यपुस्तक कमजोर छैनन् । हामीले विकास गरेका पाठ्यपुस्तक धेरै गुणस्तर र राम्रा छन्” उहाँले भन्नुभयो, “हो, निजी प्रकाशकले प्रयोग गरेको कागज राम्रो छ ।” गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

प्रकाशित मिति: आइतवार, बैशाख १, २०७६ /Sunday, April 14th, 2019, 7:21 am