सम्पादकीयः विकास र सुधारको वर्ष बनोस् २०७६

नेपाली नयाँ वर्ष सुरुवात भएको छ । थुप्रै आशा, अपेक्षा र चाहनालाई पूरा गर्नैपर्ने जिम्मेवारी सहित नयाँ वर्ष २०७६ लाई स्वागत गरिएको छ । मुलुकमा स्थिर, दुईतिहाईको सरकार छ । यसले २०७५ सालको सुरुवातमा जस्तो काम गर्न नसक्दा निराशा छाएको थियो । त्यसलाई आशा र उमङ्गको वर्ष बनाउन पर्ने आवश्यकता देखिन्छ ।

नेपाली जनताको आँखाबाट हेर्दा २०७५ साल खासै उत्साहित हुनुपर्ने अवस्थामा पुग्न सकेन । सामाजिक, आर्थिक र राजनीतिक लगायतका क्षेत्रले जनतालाई खुशी तुल्याउन सकेनन ।

राजनीतिक दलमा आन्तरिक विवाद चुलिएको छ । विधि र पद्धति मिचिएको छ । हैकमवादी सोचले पार्टी सञ्चालन हुँदा सामुहिकता हराएको छ, जसले गर्दा दलहरू जनताको मन जित्न चुकेका छन ।

सरकार शान्ति, सुरक्षामा असफल भएजस्तै लोकतान्त्रिक व्यवहार र आचरण कायम गर्न दलहरू पनि असक्षम बनेका छन । अब त्यसलाई तोडेर काम गर्नुपर्ने दलहरूमा ठूलो जिम्मेवारी थपिएको छ ।

लोकतन्त्रमा सरकार तानाशाही बन्न खोजे चेक र ब्यालेन्स गर्नुपर्ने संसदको प्रमुख प्रतिपक्षी दल सरकारलाई झकझाउन गम्भिर बन्नुपर्छ । सरकार जनतालाई केन्द्रमा राखेर आफ्नो प्राथमिकता निर्धारण गर्दै काम गर्न लाग्नुपर्छ । नत्र २०७५ सालमा सुरुवात गरेका सार्वजनिक यातायातमा रहिआएको ‘सिन्डिकेट’ विरुद्धको सरकारको कदम सेलाए जस्तै सेलाउने खतरा रहन्छ ।

स्थानीय, प्रदेश र केन्द्र सरकारबिचमा देखिएको समन्वय अभाव अब हट्नुपर्छ । प्रदेशले केन्द्रबाट हस्तक्षेप खेपेको, स्थानीय तहको अधिकार कार्यान्वयन गर्न कर्मचारी अभाव नहोस् ।

सुरुवात भएका जनताको पक्षका कामहरू अघि बढून । दलहरूमा एकता कायम होस । आर्थिक समृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण होस ।
२०७६ साल साच्चिकै जनताको वर्ष बनोस । सबैको प्रगति होस । सुख, शान्ति, समृद्धि, उन्नति, प्रगति सम्पूर्ण प्राप्तिको सफलता मिलोस् । नयाँ बर्ष २०७६ को हार्दिक हार्दिक शुभकामना ।

प्रकाशित मिति: आइतवार, बैशाख १, २०७६ /Sunday, April 14th, 2019, 12:07 am