युएईसमक्ष नेपालले प्रस्तुत गर्यो २४८ को लक्ष्य

काठमाडौं, चैत्र २९ । मलेशियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट एसिया छनोटको दोस्रो खेलमा नेपालले युनाईटेड अरब इमिरेट्स (युएई) समक्ष जितका लागि २४८ रनको लक्ष्य दिएको छ ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २४७ रन बनाएको थियो ।

नेपालको उच्च स्कोरमा भिम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका हरि चौहानले ६७ रन बनाउन सफल भए । यस्तै भिम सार्कीले ५४ बलमा ५३ रनको योगदान दिए ।

नेपालका ओपनर रित गौतमले ४४ रन जोडे । ७३ बल खेलेका उनले ३ चौका प्रहार गरे। यस्तै आसिफ शेखले २७, कप्तान रोहित पौडेलले १८ र पवन सर्राफले १२ रन जोडे।

युएईका रिशाब मुखर्जीले ४ तथा मोहमद फाराजुदीनले ३ विकेट लिए ।

६ टोली सहभागी छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि योग्य हुनेछ। पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उक्त जितसँगै नेपाल अंकतालिकाको शीर्षमा छ।

यो पनि पढ्नुहोस

नेपाल युएईविरुद्ध जितको लक्ष्यसहित ब्याटिङमा

प्रकाशित मिति: शनिबार, चैत्र ३०, २०७५ /Saturday, April 13th, 2019, 11:26 am