सिंगापुरमाथि नेपालको शानदार जित

काठमाडौं, चैत २९ । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको हो ।

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो ।

सिंगापुरका इशान स्वानीले सर्वाधिक २८ रन बनाए भने साइ भेनु गोपालले १८ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन ।

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सरार्फले ३ विकेट हात पारे । यस्तै कुशल मल्ल र सुर्य तामांङले समान २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको थियो । सिंगापुरविरुद्ध बनाएको उक्त स्कोर यू-१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठुलो स्कोर हो ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २९, २०७५ /Friday, April 12th, 2019, 2:04 pm