नेपालगञ्ज प्लाष्टिमुक्त बनाइने

नेपालगञ्ज, चैत ३ । नेपालगञ्ज उपमहानगरपालिकाको चौथो नगरसभाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई प्लाष्टिकमुक्त उपमहानगरपालिका घोषणा गर्नका लागि आवश्यक कार्यविधि बनाउनेलगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

नगरसभामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७५, फोहरमैला व्यवस्थापन विधेयक २०७५ लगायतका प्रस्तावमाथि व्यापक छलफल भएको थियो ।

आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बजेट योजना तथा कार्यक्रम रकमान्तर तथा संशोधन र आव २०७४÷७५ को मौज्दात बजेटमध्ये सम्बन्धित वडा कार्यालयबाट विभिन्न शीर्षकमा विनियोजन भएको कार्यक्रम तथा बजेटमाथि थप छलफल गरी एक हप्तापछि पुनः बस्ने सभाबाट स्वीकृत गर्ने तयारी गरिएको छ ।

सभामा उपमहानगरपालिकाअन्तर्गत सुशासन समिति, विधायन समिति र लेखा समिति नियमावली बनाउने प्रस्ताव पनि पेश भएको छ । यस्तै सभा बैठकमा नगरको ट्राफिक, अटोरिक्सा, ठेला व्यवस्थापनलगायतका विषयले पनि प्रवेश पाएको छ भने यी विषयमा थप छलफल गरी आगामी सभाबाट स्वीकृत गरिने भएको छ ।

आफ्नो वडा कार्यालय भवन नभएका वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समिति कार्यालयसँग रकम माग गर्ने प्रस्ताव पनि छलफलमा ल्याइएको छ । छलफलका विषयले उपमहानगरपालिकाको समग्र विकास र काममा सहजता ल्याउने नगरप्रमुख डा धवलशम्शेर राणाले विश्वास व्यक्त गर्नुभयो ।

आठौं राष्ट्रिय खेलकूद चैत तेस्रो साता

लामो समयदेखि प्रतिक्षा गरिएको आठौँ राष्ट्रिय खेलकूद यही चैतको तेस्रो साताभित्र शुरु हुने पक्का भएको छ । नेपालगञ्ज रङ्गशालामा पूर्वाधार निर्माणका काम लगभग सकिएको र विशिष्ट पाहुना बस्ने प्यारापिटको सामान पनि सोमबार नेपालगञ्ज आइपुग्ने भएकाले चैत २१ देखि २५ गतेभित्र औपचारिक शुभारम्भ हुने आठौँ राष्ट्रिय खेलकूदका प्रचार संयोजक रोहित दाहालले जानकारी दिनुभयो ।

आज नेपालगन्जमा सञ्चारकर्मीसँगको छलफलमा संयोजक दाहालले यही चैत १० गतेसम्म राष्ट्रिय खेलकूद परिषद्को बैठक बसी मिति तोकिने जानकारी दिनुभयो । राष्ट्रिय खेलकूदको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने योजना छ । बाँके, बर्दिया, दाङलगायतका ठाउँमा राष्ट्रिय खेल हुनेभए पनि उद्घाटन र समापनसहित अधिकांश खेल नेपालगञ्जमा हुनेछन् ।

खेल अवधिभरिको प्रचार सहजताका लागि सोमबारदेखि नेपालगञ्ज रङ्गशाला परिसरमा मिडिया सेन्टर खुल्ने प्रचार संयोजक दाहालको भनाइ छ । यसैगरी, खेल तयारीका लागि आज मात्र नेपालगञ्जमा विभिन्न छ तयारी समितिका बैठक बसेको प्रदेश नं ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो । पूर्वाधारस्थलको अन्तिम अनुगमनका लागि प्राविधिक टोली फिल्डमा खटिएको पनि उहाँले बताउनुभयो । नेपालगञ्जमा मात्रै आठौँ राष्ट्रिय खेलको तयारीका क्रममा रु डेढ अर्बभन्दा बढी लगानी भएको छ ।

प्रकाशित मिति: आइतवार, चैत्र ३, २०७५ /Sunday, March 17th, 2019, 9:33 pm