आज नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका जाँदै

काठमाडौं, चैत ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड आज अमेरिका जान लागेका हुन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार उनी आज साँझ पाँच बजे अमेरिका जान लागेका हुन् । प्रचण्ड दम्पतिसँगै छोरीज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लागेका हुन्। आइतबार अमेरिका जाने निश्चित भएपनि स्वदेश फर्किने मिति भने तय भएको छैन।

दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

बिगत एक बर्षदेखि सीताको स्वस्थ्यमा पटक पटक समस्या आएको छ । गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगि उपचार गराउनु गराएका थिए ।

रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए । तर स्वाथ्यमा सुधार नभएपछि उपचारकालागि अमेरिका लैजान लागेका हुन् ।

प्रकाशित मिति: आइतवार, चैत्र ३, २०७५ /Sunday, March 17th, 2019, 10:28 am