अहिलेसम्म कम्प्युटर नदेखि कम्प्युटर विषयको परीक्षा दिदैँ

सल्यान, चैत ३ । कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर, उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् । ‘खै १ कम्प्युटर कस्तो हुन्छ देखेको छैन,’ मीनराजले भने, ‘कम्प्युटर नदेखे पनि पास हुनलाई परीक्षा त दिनैपर्‍यो नि १’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – उनले कक्षा ६ र ७ को वार्षिक परीक्षामा कम्प्युटर विषयको परीक्षा दिएका हुन् । अझ त्रैमासिक र अर्धवार्षिक परीक्षा त कक्षा ८ मा पनि दिइसके । तीन वर्षदेखि कम्प्युटर विषय पढ्दै पनि आएका छन् । ‘एक सय पूर्णांकको छ, नपढी भयो त रु,’ उनले प्रश्न गरे ।

उनी मात्रै होइनन्, बिर्केनेटी आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका सबै विद्यार्थी कम्प्युटर नदेखेरै कम्प्युटर विषय पढ्छन् । त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षा दिन्छन् र पास पनि हुन्छन् ।

शिक्षकले पनि कालोपाटीमा कम्प्युटरको चित्र कोर्छन् । यस्तो उस्तो हुन्छ भनेर पढाउँछन् । कक्षामा कम्प्युटर त शिक्षकले पनि छुन पाउँदैनन् । किनकि, यो विद्यालयमा कम्प्युटर नै छैन । कम्प्युटर नभएकाले समस्या भएको विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर बुढाथोकीले बताए । ‘०७० देखि यसरी नै पढाइरहेका छौँ,’ प्रधानाध्यापक बुढाथोकीले भने ।

सरकारले कक्षा ६ देखि ८ सम्म एक सय पूर्णांकको मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय राख्न सकिने गरी साप्ताहिक रूपमा पाँच पाठ्यभार छुट्याएको छ । यो विद्यालयले ऐच्छिक विषयका रूपमा एक सय पूर्णांकको कम्प्युटर विषय पढाउने गरेको हो । तर, कम्प्युटर नहुँदा विद्यार्थीले पुस्तक पढेकै भरमा कम्प्युटर विषयको परीक्षा दिने गरेका छन् ।

जिल्लाभरि नै उस्तै
यो विद्यालय मात्रै होइन, अन्य विद्यालयको हालत पनि उस्तै छ । सल्यानमा कक्षा ६ देखि ८ सम्म पढाइ हुने डेढ सय विद्यालय छन् । त्योभन्दा माथि पढाइ हुने एक सय विद्यालय छन् । माध्यमिक विद्यालयहरूमा त कम्प्युटर छन्, तर आधारभूत विद्यालयले कम्प्युटरविना नै पठनपाठन गरिरहेका छन् ।

दार्मास्थित जनजागृत आधारभूत विद्यालयका प्रधानाध्यापक कमल चन्दले कम्प्युटरविना नै पठनपाठन भइरहेको बताए । । ‘विद्यालयमा कम्प्युटर र बिजुली पनि छैन । पुस्तककै भरमा कम्प्युटर शिक्षा पढाउने गरिएको छ,’ प्रधानाध्यापक चन्दले भने । प्रायः जिल्लाका सबै आधारभूत विद्यालयको अवस्था आफ्नो जस्तै रहेको उनको भनाइ छ ।

प्रयोगात्मक पनि चित्रकै भरमा
पाठ्यक्रमअनुसार एक सय पूर्णांकको कम्प्युटर विषयमा ५० पूर्णांकको सैद्धान्तिक र ५० पूर्णांकको प्रयोगात्मक परीक्षा हुन्छ । प्रयोगात्मक परीक्षा पनि कम्प्युटरका चित्र हेरेरै हुने गरेको छ । शिक्षकले प्रश्न सोधेर त्यसको परीक्षा लिने गरेका छन् ।

यस्तो बाध्यता भएको जनजागृत आधारभूत विद्यालयका प्रधानाध्यापक चन्दको भनाइ छ । विद्यालयमै कम्प्युटर नभएकाले यस्तो भएको उनी बताउँछन् । ‘कम्प्युटर नदेखेरै विद्यार्थीले प्रयोगात्मक परीक्षा दिनुपर्ने बाध्यता छ,’ उनले भने ।

विकल्प नहुँदा कम्प्युटरको पढाइ
सहरका विद्यालयले विद्यार्थीलाई आकर्षिक गर्न र परम्परागतभन्दा फरक विषय हुने भएकाले कम्प्युटरको पढाइ गर्न थालेका छन् । तर, यहाँका आधारभूत विद्यालयले भने विकल्प नहुँदा कम्प्युटरको पढाइ गर्नुपरेको बताएका छन् ।

जिल्लाभरि नै मातृभाषाको पाठ्यक्रम नहुँदा कम्प्युटर पढाउनुपरेको प्रधानाध्यापक चन्दको भनाइ छ । ‘मातृभाषा, स्थानीय विषय तथा संस्कृत विषयको पाठ्यपुस्तक तयार गरिएको छैन, त्यसैले यही पढाउनुपरेको छ,’ उनले भने ।

अहिले आधारभूत तह शिक्षासम्बन्धी सबै जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख लीलाधर बबालले स्थानीय तहले नै पाठ्यपुस्तक तयार गर्नुपर्ने बताए । ‘स्थानीय तहहरूले अगुवाइ गरेर स्थानीय विषयको पाठ्यक्रम तय गरेर लागू गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: आइतवार, चैत्र ३, २०७५ /Sunday, March 17th, 2019, 8:14 am