विद्यालय छाडेका धमाधम विद्यालयमा फर्कदै

हेमन्त केसी /जाजरकोट, चैत २। नलागड नगरपालिका– ९ त्राँत्रकी काली विक कक्षा ४ मा पढ्दा आमाको मृत्यु भएपछि उनले विद्यालय छाड्नु प¥यो ।

सानै छँदा बाबुको मृत्यु भएकाले आमाको माया, ममतामा हुर्किएकी काली त्रिभुवन आधारभूत विद्यालयमा कक्षा ४ भर्ना भएको चार दिन पनि नबित्दै आमाको पनि नजिकको जङ्गलमा घाँस काट्न लाग्दा लडेर मृत्यु भएकाले उनको पढाइले गति लिन सकेन । घरमा दाजु, भाउजू भए पनि कलम, कापी र पोशाक किन्नका लागि रकम नहुँदा आफूले पढाइ छाड्न परेको गुनासो गर्दै उनले भनिन्, “आमा, बाबु भएको भए म पनि विद्यालय जान्थे, धेरै पढेर ठूलो मान्छे बन्थे तर आजभोलि आमाको मृत्यु भएको जङ्गलबाटै घाँस काटेर ल्याउनु मेरो नियमित काम भएको छ ।” । उनले बताइन् “मेरी आमा लडेको ठाउँमा जाँदा मलाइ कतै आमा भेटिनुहुन्छ की भनेर वनमै आमाको सम्झानमा हराउने गर्दछु ।”

उनीजस्तै अर्की रुपसरी विक पनि स्थानीय त्रिभुवन आधारभूत विद्यालयमै कक्षा ५ मा पढ्दा विद्यालय छाड्नुपर्ने बाध्यता परेको बताउँछिन् । घरमा कामको चाप र परिवारको असहयोगले गर्दा आफू विद्यालय जाँदाजाँदै पढाइ छाड्न बाध्य भएकोे दुखेसो पोख्दै उनी भन्छिन्, “मदेखि पछाडिको भाइ ठूलो भएपछि मलाइ विद्यालय छुटाएर भाइलाई विद्यालय पठाउने काम भयो, म भने दैनिक बाख्रा चराउन जङ्गल जाने गर्दैछु ।”

उनीहरु जस्तै यहाँका १८ बालबालिका शुरुमा विद्यालय गए पनि पछि विभिन्न समस्याले पढाइ छाडेर आफूहरूलाई घरायासी काम गर्न बाध्य बनाइएको गुनासो गर्छन् । वातावरणीय कृषि तथा विकास केन्द्र (केड) एवं महिला अधिकार मञ्च जाजरकोट शाखाले दिएको जीवन उपयोगी सीप तालीममा सहभागी यहाँका किशोर, किशोरीले आफ्ना पीडा सुनाउँदै विद्यालय जाने वातावरण बनाइदिन आग्रह पनि गरे । भर्खरै अहिले १८ मध्ये ११ जना महिला अधिकार मञ्च जाजरकोट शाखा र स्थानीय सरकारको पहलमा विद्यालयमा दोस्रो पटक शिक्षा आर्जन गर्न थालेको वडा नं ९ का अध्यक्ष विष्णु विकले बताउनुभयो ।

अशिक्षित परिवार र बढ्दो गरीबीका कारण यहाँका दर्जनाँै बालबालिका चाहेर पनि विद्यालय छाड्न बाध्य छन् । अधिकांश बालबालिकाको घरमा अभिभावक नहुनु र अर्काको शरणमा बस्ने गरेका कारण विद्यालय शिक्षाबाट वञ्चित भएको पाइएको उक्त मञ्चकी प्रतिनिधि सरस्वती शर्माले बताउनुभयो । विद्यालय जाने चाहना हुँदाहुँदै पनि कक्षा १ मा भर्ना भएका विद्यार्थी कक्षा ५ सम्म पुग्दा आधा घट्ने गरेको पाइएको छ । गरीबी, अशिक्षा, बेरोजगार, टुहुरा, टुहुरी, र असहाय परिवारका बालबालिकामा पढ्ने चाहना हुँदाहुँदै बीचमै पढाइ छाड्ने गरेको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

विद्यालय छाड्ने अधिकांश दलित बालबालिका भएकाले शिक्षा क्षेत्रमा विद्यार्थी टिकाउन र सबैका लागि शिक्षा दिनका लागि स्थानीय सरकार र सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने उक्त मञ्चकी प्रतिनिधि शर्माको भनाइ थियो ।

त्यस्तै भेरी नगरपालिकाका ६, ९ र ११ वडामा विशेष कार्ययोजना बनाइ बालअधिकार र विपन्न बालबालिकाको पहिचान गरी उनीहरुको हकअधिकारको बारेमा पाँच वर्षदेखि काम हुँदै आएको छ । भेरी नपा–९ रहेको दीपेन्द्र माविमा वातावरणीय कृषि तथा विकास केन्द्र (केड), बुहआयमिक विकास तथा अध्ययन मञ्चले १०० गरीब तथा पढाइमा कमजोर, बालबालिकालाई विगत पाँच वर्षदेखि सहयोग गर्दै आएको छ भने १०० बालअभियानी बालबालिकाको घरको करेसाबारी, खाद्यान्न आपूर्ति, पढाइको अवस्थासमेत जाँच गर्दै आएको छ ।

छनोटमा परी विद्यालयमा पढिरहेका बालबालिकालाई बालविवाह न्यूनीकरणदेखि समाज सुधारका विविध विषयमा प्रशिक्षण दिने गरिएको विद्यालयले जनाएको छ । नमूना जोडी योजनामार्फत पाठेघर खस्ने समस्या भोग्दै आएका महिलालाई स्वास्थ्य संस्थासम्म ल्याएर उपचारको व्यवस्था गर्ने अभियान पाँच वर्षदेखि हुँदै आएको छ । स्थानीय सरकारले सो अभियानलाई साथ दिएको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।

पहिलोपटक श्रीमती गर्भवती हुँदा लाज र सरमले असहयोग गर्ने श्रीमान्ले सो योजना लागू भएपछि अहिले श्रीमतीलाई ल्याएर स्वास्थ्य संस्थामा गर्भजाँचदेखि अन्य कुरामा सहयोग गर्ने गर्दै आएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत्र २, २०७५ /Saturday, March 16th, 2019, 6:18 pm