नेकपाका पोलिटव्यूरो सदस्य कार्की ललितपुरबाट पक्राउ

काठमाडौं, चैत्र २ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएसँगै सरकार सो पार्टीका नेता कार्यकर्ताको धरपकडमा उत्रिएको छ। नेकपाका नेता कार्यकर्ता पक्राउका लागि प्रहरीले देशैभरि आफ्ना संयन्त्र परिचालित गरेको छ।

यसैक्रममा प्रहरीले नेकपाका पोलिटव्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई नियन्त्रणमा लिएको छ। गएराति ललितपुरको च्यासलबाट औषधी लिन डेरामा पुगेका बेला पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ । सुगर रोगले पीडित कार्की औषधी लिन भन्दै डेरामा जानासाथ सादा पोशाक र ड्रेसमा गएका प्रहरीले पक्राउ गरेर लगेको जनाईएको छ ।

तर प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन। उनी यसअघि पनि पक्राउ परेका थिए। सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए।

प्रहरीले नियन्त्रणमा लिइएका कार्कीलाई कहाँ राखिएको जानकारी नदिइएको परिवारका सदस्यहरुले जनाएका छन्।

प्रकाशित मिति: शनिबार, चैत्र २, २०७५ /Saturday, March 16th, 2019, 9:55 am