‘चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार’ : विप्लव

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विज्ञप्ति मार्फत चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ । सरकारले प्रतिबन्ध लगाएको दुई दिनपछि विज्ञप्ती निकाल्दै उसले यसलाई हास्यास्पदको संज्ञा दिएको छ । साथै सरकारसँग कुनै पनि हालतमा नझुक्ने पनि प्रष्ट पारेको छ ।

फागुन २८ गते मङ्गलबार बालुवाटार प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको भन्दै प्रतिबन्ध लगाएपछि सोको विरूद्ध प्रतिक्रिया दिदैं उनले वक्तव्यमार्फत दिने क्रममा यस्तो बताएका हुन।

हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउनु परेको सरकारको तर्क थियो । यसैगरी विज्ञप्तिमा सरकारले दमन गरे उपयूक्त जवाफ फर्काउने चेतावनी समेत दिएका छन्।

विप्लव समूहले भने राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो ।

चन्दाको औचित्य पुष्टि गर्दै विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३०, २०७५ /Thursday, March 14th, 2019, 9:50 am