विप्लवमाथिको प्रतिबन्ध उचितः कांग्रेस सभापति देउवा

विराटनगर, फागुन ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उचित भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसंग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले सार्वजनिक र निजी सम्पत्ति तोडफोड गरेर जनतामा त्रास सिर्जना गर्ने विप्लव समुहलाई प्रतिबन्ध लगाउनु उचित भएको प्रष्ट पार्नु भएको छ ।

उहाँले बम बिस्फोट गराएर आतंक मच्चाउनेमाथि कडा कारबाही गर्न सरकारलाई आग्रह समेत गर्नुभएको छ । मुलुकमा आतंक मच्चाएर कोही पनि सफल नहुने भन्दै समस्याको समाधान शान्तिपूर्ण रुपबाट खोजिनुपर्ने उहाँले बताउनुभयो ।

सभापति देउवाले विप्लव नेतृत्वको माओवादीलाई प्रतिबन्ध लगाउने विषयमा सरकारले कांग्रेससँग छलफल भने नगरेको बताउनुभयो । देउवाले सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन भएको सहमति सकारात्मक भए पनि बाहिर आए जस्तै मधेसको विषयमा जनमतसंग्रह गर्ने सहमति भएको भए कांग्रेसलाई स्वीकार्य नहुने उल्लेख गर्नुभयो । उहाँले मुलुकको राष्ट्रिय अखण्डता र लोकतन्त्रको मूल्य मान्यताविपरीत गरिने सहमति कांग्रेसलाई मान्य नहुने प्रष्ट पार्नुभयो । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३०, २०७५ /Thursday, March 14th, 2019, 7:43 am