कांग्रेसद्वारा सहमतिबारे सरकार र राउतको साझा धारणा माग

काठमाडौं, फागुन ३० । नेपाली कांग्रेसले सरकार र स्वतन्त्र मधेस गठबन्धनका प्रमुख सीके राउतबीच भएको सम्झौताका केही बुँदा आपत्तिजनक भएको भन्दै अस्पष्ट रहेको बुँदाको सरकार र गठबन्धनले साझा व्याख्या गर्नुपर्ने माग गरेको छ ।

सरकार स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिअनुसार ‘तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ भन्ने बुँदाले विभिन्न अशंका उब्जाएको भन्दै कांग्रेसले सम्झौताको यो पंक्तिको साझा व्याख्या सत्ता पक्ष र गठबन्धनको पक्षले मुलुक समक्ष तत्काल प्रस्तुत गर्न माग गरेको हो ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फागुन २४ मा सरकार र स्वतन्त्र मधेस गठबन्धनका बीच भएको सम्झौताअनुसार पहिलो नम्बरमा उल्लेख गरिएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो’ भन्ने बुँदा स्वागत योग्य भए पनि दोस्रो बँुदाले विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट वैधानिकता दिएको बताउनुभएको छ । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३०, २०७५ /Thursday, March 14th, 2019, 7:40 am