फेरि खुल्दैछ रोजगार संयोजकको आवेदन

काठमाडौ, फागुन २९ । यस अघि पदपूर्ति हुन नसकेको २३२ स्थानीय तहमा रोजगार संयोजकका लागि सरकारले फेरि आवेदन खुलाउने भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका एक अधिकारिका अनुसार बिहीबार फेरि आवेदन खुलाउने तयारी भएको छ ।
पुरानै मापदण्डअनुसार खाली रहेका स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गर्न लागिएको हो ।
रोजगार संयोजकका लागि गएको माघ १८ गतेसम्म आवेदन मागेको थियो । २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए । तीमध्ये २ हजार २ सय ६५ जना उम्मेदवार प्रारम्भिक योग्यता क्रममा छानिएका थिए ।
७ सय ५३ वटै स्थानीय तहमा एक–एक जना रोजगार संयोजक आवश्यक भए पनि ५ सय २१ जना उत्तीर्ण भएका थिए । मागअनुसार पदपूर्ति हुन नसकेको २३२ वटा स्थानीय तहमा फेरि पुरानै प्रक्रियाबाट पदपूर्ति गरिन लागेको हो।

प्रदेश १ मा सुब्बामा २ र अधिकृत तहमा ६३ जनाको पदपूर्ति हुन बाँकी छ । प्रदेश २ मा सुब्बामा १७ र अधिकृत तहमा ३८ जनाको पदपूर्ति हुन बाँकी छ । प्रदेश ३ मा अधिकृत तहमा १७ स्थानमा पदपूर्ति हुन बाँकी छ ।

गण्डकी प्रदेशमा पनि१३ जनाको पदपूर्ति हुन बाँकी छ । प्रदेश पाँचमा अधिकृत तहमा चाहिने जति उम्मेदवार पास भएका छन् । कर्णाली प्रदेशमा अधिकृत तहमा २० र सुब्बामा ८ स्थानमा पदपूर्ति हुन बाँकी छ भने सुदूरपश्चिम प्रदेशमा अधिकृत तहमा ४९ स्थानमा पदपूर्ति हुन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २९, २०७५ /Wednesday, March 13th, 2019, 1:47 pm