आफैँले आफ्नो श्रद्धाञ्जली पढ्दा…

काठमाडौँ, फागुन २५ । नेपाल पर्वतारोहण संघ ‘एनएमए’का पूर्वअध्यक्ष पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका लागि १५ र १६ फागुन जीवनमै सबैभन्दा बढी तनावले भरिएका दिनका रूपमा रहे । एसियन ट्रेकिङका सञ्चालक उनको इ–मेलमा दुई दिनमा २६ वटा श्रद्धाञ्जलीकासहित ७ सय ५१ वटा इमेल आएछन् । एकैपटक धेरै इ–मेल आउँदा उनको इ–मेल नै ह्याङ भयो ।

ठमेल छाया सेन्टर सामुन्ने छ, उनको कार्यालय । स्टाफ ती दुई दिन फोन उठाउन भ्याइ–नभ्याई थिए । सबैलाई स्पष्टीकरण दिँदा–दिँदा स्टाफहरू हैरान भए । उनकै मोबाइलको घन्टी पनि निरन्तर बजिरह्यो । सीधै उनको मोबाइलमा कल गर्नेहरूले सानो स्वरमा सोध्थे, ‘आर यू आङछिरिङ, आर यू ओके ?’

१५ फागुनमा ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यती एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पासहित सातजनाको ज्यान गएको थियो । त्यस घटनालगत्तै अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जाल श्रद्धाञ्जलीले भरिए । दुर्घटनामा परेका आङछिरिङ मिडियामा आउन त्यति नरुचाउने व्यक्ति थिए । यता एनएमएका पूर्वअध्यक्ष आङछिरिङको भने पर्यटन व्यवसायीका नेतासमेत भएकाले गुगलमा तस्बिर सहजै भेटिन्थ्यो ।

अधिकांशले अनलाइनले समाचार एनएमएका पूर्वअध्यक्ष आङछिरिङको तस्बिरसहित पोस्ट गरे भने सामाजिक सञ्जालमा पनि उनकै तस्बिर पोस्ट भए । त्यसैले उनले मात्र होइन, उनका कार्यालयका स्टाफले पनि निरन्तर एउटै स्पष्टीकरण दिनुपरेको थियो, ‘दुर्घटनामा परेको आङछिरिङ यती एयरका प्रबन्ध दिर्नेशक हुन् ।’ उनका हितैषी तथा शुभचिन्तकले फोनमा कुराकानी भएसँगै भन्थे, ओ गड, थ्यांक्स ।’ यो समाचार आजको नयाँ पत्रिकामा छ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २५, २०७५ /Saturday, March 9th, 2019, 8:41 am