समाज र नागरिकको आवश्यकताले खोलिएको सहकारी मात्र दिगो र मजबुत हुन्छ : अध्यक्षका उम्मेदवार, रामशरण घिमिरे

२०५० सालमा स्थापना भएको ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संगठनको रुपमा रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै आबद्ध सहकारी संस्थाहरूको विकास प्रबर्धन र सम्बर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

जिल्ला बचत संघको २४ औँ साधारणसभा फागुन १८ गते निर्वाचनको मिति तोकेसँगै निर्वाचनको माहोल ह्वात्तै तातेको छ । आफ्नो कार्यकालमा बचत संघलाई उत्कृष्ट र मजबुत बनाउन सफल भएका हालका अध्यक्ष रामशरण घिमिरेले तेस्रोपटक अध्यक्ष दावी गर्दै मङ्गलबार मनोनयन दर्ता गराएपछि यसै सेरोफेरोमा रहेर दैनिकीन्युजले गरेको सङ्क्षिप्त कुराकानीको सम्पादित अंशः

तपाईले दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नु भयो, के छन् त उपलब्धिहरू ?
ललितपुर बचत संघको अध्यक्ष भएर २०६८ साल भदौ ५ मा जिम्मेवारी सम्हाले । बचत संघ सानो कोठाभित्र थन्केर बसेको अवस्था थियो । कारोबारको हिसाबले ३० लाख मात्र आर्थिक कारोबार गरेको थियो । १६१ वटा संस्था बचत सहकारी संघमा आबद्ध थिए । सहकारी क्षेत्रको विकास र संम्बर्धन गर्नका लागि शिक्षा, सूचना र तालिमको व्यवस्था गर्यौं । कार्यालय ब्यवस्थापनलाई चुस्त दुरुस्त पार्यौं ।

तीन सयभन्दा बढी गोष्ठी तालिम गर्न सफल भयौँं । ललितपुरमा राष्ट्रियस्तरको सहकारी सम्मेलन गर्न सफल भयौं । राष्ट्रिय संघ, न्याप्कुन र सबै जिल्लाका सहकारी संघहरूले ललितपुर समिट सहकारी सम्मेलनको अनुसरण गर्दै कार्यक्रम सुरु गर्न थाले र ललितपुर जिल्लालाई सहकारीको राजधानी ‘उर्वरभूमि’ भनेर चिनाउन सफल भयौंँ । सहकारी क्षेत्रमा ५१.१७ प्रतिशत महिला दिदीबहिनीहरूको सहभागिता गराउन सफल भयौँं ।

यीबाहेक सबैभन्दा ठूलो उपलब्धि भनेको ललितपुरका ग्रामीण भेगमा बैंकको पहुँच नपुग्दा सरल र सहज रूपमा वित्तीय सेवा प्रदान गर्न सफल भयौँं । ललितपुर जिल्ला बचत संघमा निर्वाचित भएपछि विभिन्न माथिल्लो निकायबाट जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरूको प्रवर्धन तथा संवर्धनका लागि संस्थाहरूका बिच सहकार्य र समन्वय गर्दै उल्लेखनीय भूमिका निर्वाह गरेवापत उत्कृष्ट संघको रूपमा सम्मान प्राप्त भयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड कदरपत्र २०६९, राष्ट्रिय सहकारी महासंघको लिमिटेड उत्कृष्ट सहकारी पुरस्कार २०७३ र जिल्ला सहकारी सङ्घ लिमिटेड उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७३ ले पुरस्कृत भयौंँ ।

जिल्ला बचत संघमा हाल कतिवटा सहकारी संस्था आबद्ध छन् र तिनीहरूको अवस्था कस्तो छ ?
हालसम्म जिल्लाभरिका ५११ वटा सहकारी संस्था संघमा आबद्ध छन, २०/२२ वटा सहकारी संस्था आबद्ध हुन बाँकी छन् । ती सहकारी संस्था पनि आवद्ध हुने चरणमा छन् । हामीले संघको जिम्मेवारी सम्हालेपछि दस वर्ष पहिले र अहिले निकै भिन्नता पाइन्छ । सहकारीहरू नीतिनियममा चल्न थालेका छन् । पारदर्शीता बढेर भएको छ । समग्रमा भन्नुपर्दा बचत तथा ऋण कारोबार गर्ने सहकारीहरू समृद्ध रूपमा अगाडि बढेका छन् ।

अहिले जिल्ला बचत संघको अवस्था कस्तो छ ?
२०५० सालमा स्थापना भएको बचत संघमा ५११ वटा सहकारी संस्था आबद्ध छन् । अहिलेसम्म निक्षेप सङ्कलन ४७ करोड पुगेको छ । ३५ करोड कर्जा लगानी भएको छ । संघको शेयर पुँजी १ करोड ५२ लाख पुगेको छ । १ करोड ७५ लाख कोष सञ्चालन रहेको छ । देशभरिकै नमुना र स्तरीय तालिम दिन सफल भएको छ । उच्चतम नाफा आर्जन गरे पनि सञ्चालक समितिले बैठक भत्ता सुविधा समेत लिएका छैनन् । संघको कारोबारको वृद्धिको अनुपातमा कोष रकम उल्लेख्य वृद्धि भई संघ आजको दिनमा मजबुत बन्न सफल भएको छ ।

बचत संघले जिल्लामा के कस्ता कार्य गर्दै आइरहेको छ ?
जिल्लाभित्र भएका बचत तथा ऋण सहकारीहरूले सहकारी संघमा आबद्ध गराउने, सहकारीको नीति नियम अनुसार सहकारी सञ्चालनका लागि तालिम गोष्ठीको आयोजना गर्ने कार्यहरू भए । बचतकर्ता र ऋणी उपभोक्ताको हितमा हुने क्रियाकलापमा जोड दिने काम ग¥यौँ । नीतिनिर्माणका क्रममा राज्यसँग पैरवी र पहलकदमी गर्ने, असल सहकारी निर्माणका निमित्त जोड दिने कार्यहरू भए ।

अर्को कुरा बचत तथा ऋण सहकारी संघ भनेको जिल्लास्तरीय सहकारी बैंक हो । यसले आफ्ना सदस्य संस्थाहरूलाई वित्तीय सेवा दिन्छ, त्यो पनि सरल र सुलभ तरिकाबाट । नीतिनिर्माणका सम्बन्धमा अहिले हामी निकै खुसी छौँं किनभने आयकरलाई हामीले १० प्रतिशतमा झार्न सफल भयौंँ । महानगर १० प्रशितशत, नगरपालिकामा ५ प्रतिशत आयकर तिरे पुग्छ । नेपालका कुनै पनि स्थानीय तहमा २० प्रतिशतभन्दा कमि आएको छैन । हाम्रा लागि यो ठूलो उपलब्धि हो । अर्को कुरा हाम्रो संघमा आबद्ध सदस्य संस्थाहरू कसरी असल र समृद्ध बनाउन सकिन्छ भनेर असल र समृद्ध सहकारी सदस्यहरूको लागि भ्रमणको व्यवस्था ग¥यौँं ।

सहकारी सञ्चालनले सहकारी सञ्चालक मात्रै मोटाएको तर उपभोक्तालाई राहत नमिलेको आरोप लाग्छ नि ?
त्यस्तो हुँदै होइन । पहिलो कुरा सहकारीका सदस्यहरू चनाखो हुनुप-यो । सहकारीको महत्त्व, यसको भूमिका, यसले भोलि आफ्नो जीवनमा पार्ने प्रभावका विषयमा सहकारी सदस्य दीक्षित हुनुप-यो, यसमा पनि शिक्षा सूचना नै जोडिन्छ ।

कुनै पनि सहकारी संस्थामा सदस्य बन्नुभन्दा पहिले त्यस संस्थाबाट आफूले पाउने सुविधा, संस्थामा आफूले गर्न सक्ने भूमिका, आफुले लिनुपर्ने शिक्षा, सूचना वा जानकारी लिएर मात्र सदस्य बन्नु पर्छ किनभने सहकारी सदस्यले गरेको उत्पादन सहकारीकर्मीले नै उपभोग गर्छन, उत्पादन गर्न सहकारीले नै ऋण प्रवाह गर्छ ।

संघमा आवद्ध सहकारीहरू सहकारी ऐन अनुसार चलेका छन् ?
सबै हिसाबले ऐन कानुनअनुसार चलेका छन् भन्ने कुरा छैन । क्रमिक रूपमा सुधार हुँदै आएका छन् । नीतिनियम सुधार भएसँगै कार्यान्वयन पक्षमा पनि सुधार गर्दै लैजानुपर्ने हुन्छ । अहिले सहकारी ऐनमै अनुगमनको व्यवस्था गरिएको छ, त्यसको जिम्मेवारी संघले पाएको छ । हामीले अनुगमन थाल्छौं । त्यसरी सहकारी ऐन अनुसार नचलेको पाइए सम्बन्धित निकायमा कारबाहीको सिफारिस गर्छौं ।

सहकारी क्षेत्रलाई अहिले राजनीतिक गर्ने थलोका रूपमा हेरिन्छ भन्छन् नि ?
म २०५७ सालबाट सहकारीमा आबद्ध भए । त्यतिबेला सहकारी क्षेत्रमा प्रवेश गर्दा राजनीतिको जुत्ता बाहिर खोलेर सहकारीमा प्रवेश गर्नुपर्छ भन्ने पहिलो व्यक्ति म थिए । तर यहाँ केन्द्रीय संघ, महासंघ नै राजनैतिक चलखेल गर्ने स्थल भएछ । तर म बचत संघमा रहँदा मैले कहिले पनि राजनैतिक कुरा गरिन, राजनैतिक विभेद गरिन ।

सहकारिताको विकासका कुरा गरेँ, प्रवर्द्धनको कुरा गरेँ । एउटा कोठाभित्र रहेको बचत संघलाई राष्ट्रियस्तरमा चिनाउन सफल भए । यसमा म मात्र होइन मेरो सिङ्गो सञ्चालक समितिको हात छ । ३० लाखको संघबाट ५० करोडको संघ बनाउन सफल भयौँं ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याहरू के के हुन् त ?
सहकारी संस्थाहरू देखासिकी, लहलहै, होडबाजी र प्रतिस्पर्धामा देखिन थाले । सहकारी संस्था होडबाजी र लहलहैमा खोलिने संस्था होइन । यी संस्था आवश्यकतामा खोलिने विषय हो । जब समाजको आवश्यकता रहन्छ, नागरिकको आवश्यकता रहन्छ त्यतिखेर खोलिएको सहकारी मात्र दिगो र मजबुत हुन्छ । व्यक्तिगत स्वार्थभन्दा सामूहिक स्वार्थमा सहकारी खोलिनुपर्छ ।

तेस्रोपटक पनि अध्यक्षका लागि उम्मेदवारी दिँदै हुनुहुन्छ, फेरि तपाईंले चुनाव जित्ने आधारहरू के हुन् ?
नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यता बोकेको व्यक्ति हुँ म । मैले मेरो सञ्चालक समितिका उपाध्यक्षलाई यो पद दिनुपथ्र्याे तर वहाँसँगै थुप्रै सहकारीकर्मी अग्रजहरूले मेरो कामको मूल्याङ्कन गरेर अध्यक्षमा पुनः उठ्न प्रस्ताव गर्नुभयो । अबको मेरो एजेण्डा र लक्ष्य भनेको जिल्ला बचत संघमा रहेका ५११ सहकारी संस्थालाई बचत संघको आफ्नै भवनबाट सेवा र सुविधा प्रदान गर्ने रहेको छ । यो मेरो अन्तिम कार्यकाल पनि हुनेछ ।

अहिले रहेको कारोबारबाट डेढ अर्बभन्दा बढी कारोबार पु-याउने लक्ष्य लिएको छु । सबैखाले बित्तीय आवश्यकता पूरा गर्नसक्ने क्षमताको बचत संघको निर्माण गर्छु । संघले दिने सेवा विकेन्द्रित गर्दै दुर्गम गाउँहरूमा सेवा केन्द्रको स्थापना गर्ने र त्यहाँबाट सदस्य संस्थाहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छु । स्वस्थ सहकारी संस्था निर्माणका लागि अधिकतम पहल गर्ने र सबै सदस्य संस्थाहरूलाई संघको सेवा सुविधा सरल ढङ्गले प्रदान गर्ने लक्ष्य रहेको छ ।

प्रजातान्त्रिकधार निकट सहकारीकर्मीहरु एक ठिक्का हुनु, नेकपा निकट सहकारीकर्मीहरुको साथ र म अध्यक्ष हुँदा मैले खेलेको भूमिका मेरो जित्ने प्रमुख आधार हो ।

 

यो पनि पढ्नुहोस्

यसरी तातिरहेको छ जिल्ला बचत सहकारी संघ ललितपुरको चुनावी माहौल, को बन्ला अध्यक्ष ?

प्रकाशित मिति: बिहिबार, फाल्गुन १६, २०७५ /Thursday, February 28th, 2019, 8:14 am