फागुन १४ गते सार्वजनिक बिदा

काठमाडौं, फागुन १२ । फागुन १४ गते मंगलबार सार्वजनिक बिदा हुने भएको छ । वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको शोकमा विराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनले राज्यलाई नै ठूलो क्षति पुगेकाले उनको सम्मान महानगरपालिकाले मंगलवार सार्वजनिक बिदा दिने घोषणा गरे ।

‘मेरो यो पूर्वघोषित निर्णय हो, भोलि (सोमबार) बोर्ड बैठक बोलाएर शोक प्रस्ताव पारित गर्दै पर्सी (मंगलबार) महानगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गर्दछु,’ उनले भने ।

पोखरेलको अन्त्यष्टि
वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर १ मा रहेको परोपकार घाटमा अन्त्यष्टि भएको छ । शनिबार राति २ बजे निधन भएका पोखरेलको परोपकार घाटमा अन्त्यष्टी गरिएको हो । उनको अत्यष्टिमा एक मात्र छोरा मुनाल पोखरेलले दागबत्ती दिएका थिए ।

अन्त्यष्टिका क्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालको झण्डा ओढाएर पोखरेलले नेपाली भाषामा पुर्याएको योगदानको चर्चा गर्दै श्रद्धाञ्जलि दिएका थिए ।

मन्त्री घिमिरेले भाषशास्त्री पोखरेलको निधनले नेपालको भाषिक आन्दोलनमै अपुरणीय क्षति पुगेको बताए । यत्तिको क्षमता भएका प्रतिभा राज्यमा छन् कि छैनन् भन्ने खोजिको विषय हो, उहाँको देहावशानले राष्ट्रलाई क्षति पुगेको छ,’ उनले भने ।

प्राज्ञ दधिराज सुवेदीले नेपाली भाषा र साहित्यमा त्यो बेलाको सोध खोज र अनुसन्धानमा पोखरेलको योगदान कसैले पनि गर्न नसकेको बताए । उनले नेपाली भाषा र साहित्यमा एउटा पाना पल्टिएको व्याख्या गरे ।

प्रा।डा। टंक न्यौपानेले भाषाको श्रीवृद्धिका लागि भएको योगदानमा पोखरेलको जतिको योगदान अरुले अहिलेसम्म गर्न नसकेको सुनाए । विगत एक महिनादेखि थलिएका मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेर मुटुको चाल बन्द भएको उनका छोरा मुनाल पोखरेलले बताए । ८६ वर्षीय प्राध्यापक पोखरेललाई भारतको सिक्किमस्थित गान्टोकमा छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो ।

गान्टोकबाट काठमाडौं लगेर नर्भिक अस्पतालमा उपचार भएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर ल्याएर स्पार्क अस्पतालमा उपचार गराइरहेकोमा एक्कासी स्वास्थ्य बिग्रिएपछि गत शनिवार श्री अस्पतालमा उपचारपछि केही सहज भएपछि घर लगिएको थियो ।

शनिवार साँझसम्म आएका व्यक्तिसँग राम्रै बोलीचाली गरेका पोखरेलको गएराति २ बजे विराटनगरको कलेज रोडस्थित आफ्नै घरमा निधन भएको थियो।

प्रकाशित मिति: आइतवार, फाल्गुन १२, २०७५ /Sunday, February 24th, 2019, 8:30 pm