स्रोतब्यक्ती शिक्षकको काज फिर्ता, अब बिद्यालयमै हाजिर गर्नुपर्ने

काठमाडौ, फागुन ६ ।

सरकारले स्रोत व्यक्तीलाई बिद्यालय फर्कनुपर्ने व्यबस्था गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्रोतव्यक्तिको काज फिर्ता गरिएकोले अब उनीहरू पढाउन विद्यालय फर्कनुपर्ने बताए । सोमबार प्रतिनिधि सभाको बैठकमा
नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले स्रोतव्यक्ति (आरपी) लाई सरकारले सेवाबाट हटाउन खोजेकोमा जवाफ माग गरेपछी मन्त्री पोखरेलले जवाफ दिदै
एक हजार ५५ जना स्रोतव्यक्तिमध्ये ९८० जना आफ्नो दरबन्दी रहेको विद्यालय फर्कने पर्ने बताए ।
बिद्यालयमा पढाइरहेका शिक्षक तथा प्रधानाध्यापकहरू विभिन्न समयमा स्रोतव्यक्ति हुन काजमा गएका थिए।
७५ जना बाहेक अरु विद्यालय पढाइरहेका शिक्षक स्रोतव्यक्ति बनेका थिए। शुक्ररबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा स्थानीय सरकारले हेर्ने भएकोले संघ मातहत स्रोतव्यक्ति आवश्यक नपर्ने भन्दै काज फिर्ता गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए।

‘आवश्यकता भयो भने स्थानीय सरकारले स्रोतव्यक्ति राख्न सक्छ,’ मन्त्री पोखरेलले संसदमा भने, ‘स्थानीय सरकारले आवश्यकताको आधारमा स्रोतव्यक्ति राख्न सक्ने ढोका खुला गरेका छौं।’

स्रोतव्यक्ति पदमा नै नियुक्त भएका ७५ जनालाई भने अस्थायी शिक्षकलाई दिइने सुविधा अनुसारकै सुविधा दिएर बिदाई गर्ने सरकारको तयारी छ।

‘स्रोतव्यक्ति अब विद्यालय फर्केर अहिलेसम्म उहाँहरूले आर्जन गरेको अनुभव शिक्षामा खर्च गर्नुहुन्छ। जसले शिक्षाको गुणस्तर उकास्छ’ उनले भने।

प्रकाशित मिति: सोमवार, फाल्गुन ६, २०७५ /Monday, February 18th, 2019, 8:40 pm