६ लघुवित्तको आईपीओ आउँदै

काठमाडौं, फागुन ६ । ६ ओटा लघुवित्त कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । ती कम्पनीले कुल २० लाख ८२ हजार ६ सय ८८ कित्ता आईपीओे जारी गर्न लागेका हुन् । निवेदन दिने कम्पनीमा गणपति माइक्रोफाइनान्स, गुराँस लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स, जनसेवी लघुवित्त, नेपाल एग्रो लघुवित्त र इन्फिनिटी माइक्रोफाइनान्स छन् ।

सेबोनले फागुन ३ गते स्पर्श लघुवित्तको आईपीओे स्वीकृत गरेको छ । कम्पनीले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपीओे जारी गर्न स्वीकृति पाएको हो । निष्कासन तथा विक्रीप्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड छ । कम्पनीले पुस मसान्तसम्ममा रू। ६ लाख २१ हजार नाफा कमाएको छ । चुक्तापूँजी रू। ५ करोड ६० लाख रहेको कम्पनीका २० ओटा शाखा कार्यालय छन् ।

महिला तथा विपन्न वर्गको जीवनस्तर उकास्न लघुवित्त कम्पनी सञ्चालन गर्ने नीति सरकारले ल्याएको हो । तर, पछिल्लो समय यस्ता कम्पनीले आर्थिक विकासभन्दा पनि नाफा कमाउने उद्देश्यमा बढी ध्यान दिएको भन्ने गुनासो बढेको थियो । त्यसपछि यी कम्पनीमाथि नेपाल राष्ट्र बैंकले कडाइ गर्दै आएको छ । साथै, नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई मर्जरमा जान सुझाव दिँदै आएको बेला लघुवित्तले भने थप शेयर जारी गर्न लागेका छन् । राष्ट्र बैंकले स्वीकृति दिएपछि ती कम्पनीले सेबोनमा निवेदन दिएका हुन् ।

यी कम्पनीको वित्तीय अवस्था
गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ लाख ३५ हजार कित्ता आईपीओे निष्कासन गर्न सेबोनमा पुस २ गते निवेदन दिएको हो । कम्पनीले चालू आवको पुस मसान्तसम्ममा रू। १ करोड ५१ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनी रू। ६८ लाख ४५ हजार नोक्सानमा थियो । चालू आवको पुस मसान्तमा कम्पनी रू। २८ लाख ७६ हजार खराब कर्जा उठाउन सफल भएकाले नाफामा सुधार आएको हो । हाल कम्पनीको चुक्तापूँजी रू। ७ करोड छ । कम्पनीका शाखा हालसम्म २८ ओटा छन् ।

गुराँस लघुवित्त वित्तीय संस्थाले २ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न पुस १० गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले १० जिल्लामा २३ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । पुस मसान्तसम्ममा रू. ४० लाख ९० हजार नाफा कमाएको छ । कम्पनीको चुक्तापूँजी रू। ५ करोड २५ लाख छ । त्यसैगरी, १० जिल्लामा कार्यक्षेत्र भएको स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ लाख ९८ हजार ६ सय १० कित्ता आईपीओ जारी गर्न सेबोनमा पुस २२ गते निवेदन दिएको हो । यस कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू। ८२ लाख ८५ हजार नाफा कमाएको छ । कम्पनीको चुक्तापूँजी रू। ४ करोड २० लाख छ ।

जनसेवी लघुवित्त वित्तीय संस्था ४ लाख ६३ हजार ३ सय कित्ता आईपीओे जारी गर्ने तयारीमा छ । धितोपत्र बोर्डमा पुस २४ गते निवेदन दिएको यो कम्पनीले गत पुस मसान्तसम्ममा रू। ५० लाख ४३ हजार नाफा कमाएको छ । चुक्तापूँजी रू। ९ करोड ८० लाख रहेको यस कम्पनीका हाल २५ ओटा शाखा कार्यालय छन् ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १ लाख ६१ हजार ७ सय ७८ कित्ता आईपीओ जारी गर्न माघ २० गते निवेदन दिएको हो । कम्पनीले २६ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कम्पनीले पुस मसान्तसम्ममा रू. ७२ लाख २० हजार नाफा कमाएको छ । गत आवमा कम्पनी नोक्सानमा थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले यस वर्ष नाफा बढेको हो ।

इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ लाख ७४ हजार कित्ता आईपीओे जारी गर्न माघ २९ गते निवेदन दिएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १ करोड २९ लाख नाफा कमाएको छ । चुक्तापूँजी रू. १४ करोड रहेको यस कम्पनीका ४२ ओटा शाखा छन् । आर्थिक अभियानबाट

प्रकाशित मिति: सोमवार, फाल्गुन ६, २०७५ /Monday, February 18th, 2019, 7:34 am