काग्रेसद्वारा आर्थिक नीति परिवर्तन, यी हुन् थपिएका नीति

काठमाडौं, मंसिर १९ । देश संघीयतामा गएसँगै नेपाली कांग्रेसले आर्थिक नीति परिवर्तन गरेको छ ।

कांग्रेसको तीनदिनदेखि जारी केन्द्रीय समितिको बैठकमा आर्थिक नीति परिवर्तनसम्बन्धी प्रस्तावलाई प्रकाशशरण महतले पेश गरेका हुन् ।
आर्थिक नीति प्रस्ताव समिति संयोजक एवं सहमहामन्त्री महतले प्रस्तुत गरेको नयाँ आर्थिक नीतिमा प्रमुख रुपमा पाँच आधार निर्धारण गरिएको छ।

उच्च उत्पादकत्वमा आधारित दीगो र फराकिलो आर्थिक वृद्धि, समतामूलक लोककल्याणकारी राज्य, रोजगारमुखी युवाकेन्द्रित उद्ममशीलता, सार्थक वित्तीय संघीयता, सदाचारयुक्त आर्थिक सुशासन रहेका छन् ।

कृषिमा प्रतिफलभन्दा लगानी धेरै भएकोले सुलभ ब्याजदरमा कृषि ऋणसहितको अनुदान नीति ल्याउने, भूमि खण्डीकरण रोक्न, करार र सहकारी कृषिलाई सहयोगको नीति लिइने छ। र, कृषिजन्य वस्तुमा किसानको न्यायोचित मूल्य सुनिश्चित गर्ने नीति अख्तियार गर्ने कांग्रेसको प्रस्ताव छ।

नेपाललाई धार्मिक, सांस्कृतिक दृष्टिले अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने, यसका लागि सडक र हवाई पूर्वाधार विकास गर्नेलगायत उल्लेख छ। कांग्रेसले कर्णाली प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीतिसमेत अघि सारेको छ।
आगामी दशक राष्ट्रिय पुनर्जागरणको दशक हुने भन्दै कांग्रेसले नेपाललाई दीगो विकासमा कम्तीमा मध्यम आय भएको मुलुक बनाउन नीतिगत सुधारमार्फत तीव्र गतिमा पूर्वाधार निर्माण, स्वदेशी एवं विदेशी पुँजी परिचालन, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न प्रतिबद्ध र इमान्दार रहने बताएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५ /Wednesday, December 5th, 2018, 8:21 pm