सोमपालको टीमसङ्ग पारसको टीमको लज्जास्पद पराजय

पोखरा, कात्तिक १० ।

राष्ट्रिय टीमका नियमित कप्तान पारस खड्काको चितवन राइनोजलाइ हराउँदै सोमपाल कामी नेतृत्वको बुटवल ब्लास्टर्सले पिपिए लीगमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा बुटवलले चितवनलाइ ७० रनले पराजीत गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
१३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चितवनले १६ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाउन सक्यो ।

चितवनका लागि भुवन कार्कीले सर्वाधिक १९ रन जोडे । यस्तै कप्तान पारसले १० रन जोड्दा सन्नी पटेलले ९ रन जोडे । त्यस्तै शक्ति गौचनले ९ रन जोड्दा करण केसीले ७ रन बनाए ।

चितवनलाई सस्तैमा समेट्न बुटवलका कप्तान सोमपाल कामीले १३ रन खर्चेर ४ विकेट लिए । सोमपाल म्यान अफ दि म्याच समेत चुनिए । यस्तै ललित सिंह भण्डारीले २ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, कार्तिक १०, २०७५ /Saturday, October 27th, 2018, 2:29 pm