घटस्थापना र यसको सांस्कृतिक पक्ष


देवीदत्त पौडेल

आजबाट नवरात्रि आरम्भ भएको छ । आज नवरात्रिको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाको दिन, आजको दिनलाई घटस्थापना पनि भनिन्छ । आज दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । पहिलो, यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।

आजको दिन एकाबिहानै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । हाम्रा सनातन संस्कारहरू जौ, तुलसी, कुश र तिलविना सङ्कल्पित र पूर्ण हुँदैनन् । अझ त्यसमा पनि माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिएको हो ।

आजको दिन पूजाघर वा पूजाकोठामा माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्म्विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन् स् प्रकति(पूर्व, चण्डिका(आग्नेय, भद्रकाली(दक्षिण, सर्वमङ्गला(वायव्य, वैष्णवी– उत्तर, शिवप्रिया–ईशान, जगदम्बिका–जल, थल र आकाश । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ ।

यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी, स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ ।

१६ औं शताब्दिका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहेको छ ।

प्रकाशित मिति: बिहिबार, अशोज ५, २०७४ /Thursday, September 21st, 2017, 9:25 am