बैंकले लिने व्याजमा राष्ट्रबैंकको ध्यानाकर्षण

काठमाडौं, माघ २८ । लगातारको चर्को बैंक ब्याजदरविरुद्धमा उद्योगी व्यवसायी मुलुकका विभिन्न भागमा आन्दोलनमा उत्रिएको प्रति राष्ट्र बैंकले आफ्नो ध्यानाकर्षण भएको बताएको छ। ब्याजदर धान्नै नसक्ने गरी बढेको भन्दै उद्योगी, व्यवसायीले आन्दोलन घोषणा गरेपछि राष्ट्र बैंकले यस्तो प्रतिक्रिया जनाएको हो।

पछिल्लोेपटक पोखराका उद्योगी व्यवसायीहरु बैंकको चर्को ब्याजदर नघटेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। बैंकहरुले एकतर्फी रुपमा ब्याजदर बढाएको भन्दै पोखराका उद्योगी, व्यवसायीले बढाइएको ब्याज माघ मसान्तभित्र घटाउन भनेका छन्। उक्त अवधिभित्र ब्याजदर नघटाए चरणबद्ध आन्दोलन गर्ने उद्योग व्यवसायीले चेतावनी दिएका छन्।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघको सदस्य संस्था उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरले व्यापार, व्यवसाय उठ्नै नसक्ने गरी थलिएको भन्दै तत्काल सम्बोधन गर्न राष्ट्र बैंकसमक्ष माग राखेका थिए।

बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ब्याजदरबारे उद्योगी, व्यवसायीले छलफल गरिरहेको र ज्ञापनपत्र समेत बुझाएको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारीमा जुटेको छ। चर्को ब्याजदरका विषयमा राष्ट्र बैंकको अर्धवार्षिक समीक्षामा केही सम्बोधन हुँदैछ कि भन्ने प्रश्नमा राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले मौद्रिक नीतिको समीक्षामा समेटिने वा नसमेटिने निर्णय भइनसकेका कारण यसबारेमा आफूले अहिल्यै भन्न नसक्ने बताए। तर, ब्याजदरका बारेमा भने छलफल भइरहेको उनले जानकारी गराए।

प्रतिस्पर्धात्मक क्षमता गुमेको भन्दै उद्योगी, व्यवसायी ब्याज घटाउन माग राखेर सडकमा उत्रिएपछि राष्ट्र बैंक चिन्तित भएको बताइन्छ। सरकारले उद्यम, व्यवसायमैत्री वातावरण बनाएको भनेर दाबी गरे पनि चर्को ब्याजदरले व्यवसाय थलिएको भन्दै उद्योगी, व्यवसायी सडक आन्दोलनमा उत्रिने तयारीमा छन्। यो समाचार आजको नागरिक दैनिकमा विष्णु बेल्वासेले लेखेका छन् ।

प्रकाशित मिति: सोमवार, माघ २८, २०७५ /Monday, February 11th, 2019, 7:33 am