दाताको सहयोगमा गुरुकुल भवन निर्माण

दमौली, माघ २६ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित महेश सन्यास आश्रममा दाताको सहयोगमा रु पाँच करोडको लागतमा गुरुकुल निर्माण गरिएको छ ।

संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि उक्त सुविधासम्पन्न भवन निर्माण गरिएको महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले जानकारी दिनुभयो ।

संस्कृत शिक्षाप्रति युवामा आकर्षण जगाउन र शिक्षामैत्री वातावरण बनाउनका लागि उक्त सुविधासम्पन्न भवन निर्माण गरिएको उहाँले बताउनुभयो । भवन निर्माणका लागि विभिन्न सहयोगी दाताबाट रकम सङ्कलन गरिएको थियो ।

बयालीस कोठा रहेको सो भवनको ३५ कोठा सहयोगी दाताले आफ्ना पितृको सम्झनामा निर्माण गरिदिएका थिए । बाँकी रकम भने विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको आश्रमका सल्लाहकार एवं देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । उक्त भवनमा कक्षा ६ देखि आचार्य (एमए) सम्मको संस्कृत शिक्षाको पढाइ गरिने भएको छ ।

सूचना अधिकारीको नाम र नम्बर राखिने

जिल्लास्थित सबै सरकारी कार्यालयका सूचना अधिकारीको नाम र नम्बर कार्यालय परिसरमा प्रष्ट देखिने गरी राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलपछि सूचना अधिकारीले आ–आफ्नो कार्यालय परिसरमा फोटोसहितको नाम र नम्बर राख्ने प्रतिबद्धता जनाएका हुन् ।

जनतालाई सहजरूपमा सूचनामा पहुँच पु¥याउन नाम र नम्बर देखिने ठाउँमा राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

सरकारी कार्यालयमा माग गरिने सूचना र दिइएको सूचनाको छुट्टै लगत राखी सूचना अधिकारीबाट प्रमाणित गरी त्यसको विवरण राख्ने र सूचनाको पहुँच पु¥याउन आधुनिक प्रविधिको प्रयोग गरिनेमा पनि सूचना अधिकारीले प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

सूचना माग्न एउटा मात्र निवेदन

सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ बमोजिम सूचना माग गर्दै जिल्लामा चालू आर्थिक वर्ष २०७५/७६ मा एउटा मात्र निवेदन दर्ता भएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा चालू वर्षमा सूचनाको हक प्रयोग गरी एउटा मात्र निवेदन दर्ता भएको समन्वय समितिका सूचना अधिकारी अनिल खनालले जानकारी दिनुभयो । यसैगरी व्यास नगरपालिकामा गत आर्थिक वर्षमा सूचनाको हक प्रयोग गरी पाँच सूचना माग गरिएकामा यस वर्ष भने एउटा पनि निवेदन दर्ता नभएको सूचना अधिकारी गोकर्ण वाग्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०७५ /Saturday, February 9th, 2019, 12:17 pm