आशा लघुवित्तको आईपिओ बाँडफाँड आज, साढे २ लाखले नपाउने

काठमाडौं, माघ २५ । आशा लघुवित्तको आईपिओ आज बाँडफाँड हुँदैछ । आईपिओ शुक्रबार दिउँसो ३ बजे बाँडफाँड हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

लघुवित्त कम्पनीले निष्काशन गरेको आइपिओमा १८ दशमलव ८० गुणा बढी आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन मंगलबार बेलुका ६ बजेसम्म आईपिओमा ३ लाख १३ हजार ८ सय ६० आवेदकबाट १ करोड १८ लाख ४६ हजार ४ सय ७० कित्ताको लागि आवेदन परेको हो । यस मध्ये करिब ७ सय आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता शेयर कित्ता आईपिओ निष्काशन गरेको थियो । कुल ६ लाख ७४ हजार कित्ता मध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कमर्चारीलाई र ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ ।

बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन । लघुवित्तको शेयरमा अत्यधिक आवेदन परेकोले गोलाप्रथाबाट ६२ हजार ९ सय ९३ आवेदकलाई १० कित्ता शेयर मात्र बाँडफाँड हुनेछ । यस हिसाबमा साढे २ लाख बढी आवेदक हात खाली हुने छन् ।

हाल लघुवित्त कम्पनीको चुक्ता पुंजी १४ करोड रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड ७४ लाख पुग्ने छ ।

आशा लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा २६ लाख ७७ हजार रुपैयाँ नोक्सानी रहेको लघुवित्तले नोक्सानी सकाएर नाफामा पुगेको हो।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५ /Friday, February 8th, 2019, 2:10 pm