लगातार तीन दिन सार्वजनिक बिदा

सिन्धुली, माघ १८ । जिल्लाका ३ गाउँपालिकाले सोनाम ल्होसारमा ३ दिन सार्वजनिक बिदा दिने भएका छन् । तामाङ समुदायको बाहुल्यता रहेको हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी राईले जानकारी दिए ।

गाउँपालिकाले माझी समुदायले मनाउने लदी पर्वका अवसरमा पनि फागुन २१ गते र राई समुदायले मनाउने पर्वका दिन पनि सार्वजनिक बिदा दिने उहाँले बताए ।

माझी र राई समुदायले मनाउने पर्वका दिन अहिले नै बिदा दिने निर्णय नगरिएको र पछि निर्णय गरेर बिदा दिइने बताए ।

मरिण गाउँपालिकाले पनि सोनाम ल्होसारमा दुई दिन सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको माघ १४ गते बसेको बैठकले सोनाम ल्होसारमा माघ २१ गतेदेखि २३ गतेसम्म सार्वजनिक बिदा दिएको अध्यक्ष पानीराज बम्जनले जानकारी दिए ।

यसैबीच मरिण गाउँपालिकामा माझी समुदायको पनि धेरै बसोबास रहेकाले माझी समुदायको सांस्कृतिक पर्व लदी पूजाका दिन फागुन २१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

घ्याङलेख गाउँपालिकाले पनि तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाभरि माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा ९० प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले महान् पर्व सोनाम ल्होसारमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जगत् भोलनले जानकारी दिए।

सिन्धुलीको दुधौली नगरपालिका, फिक्कल गाउँपालिकाले भने सोनाम ल्होसार बनाउन छुट्टै सार्वजनिक बिदा नदिने बताएका छन् । कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकाले भने छलफलपछि सार्वजनिक बिदा दिने भएका छन् ।

नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष गम्भीरसिंह मोक्तानले तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा बिदा दिन कमलामाई नगरपालिकालगायत स्थानीय सरकारसँग माग गरिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५ /Friday, February 1st, 2019, 1:34 pm