डा केसी अनसनको आज २२ औं दिन, स्वास्थ्य बिग्रिएपछि आईसीयूमा सारिँदै

काठमाडौं, माघ १६ । स्वास्थ्य बिग्रिँदै गएपछि डा गोविन्द केसीलाई आईसीयूमा सार्ने तयारी गरिएको छ। चिकित्सा शिक्षा सुधार लगायतका विभिन्न माग राख्दै डाक्टर केसीले थालेको १६औँ अनशन आज २२ दिन पुगेको छ।

२२ दिनसम्म आइपुग्दा बुधबार डा केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको भन्दै आईसीयूमा राख्ने तयारी गरिएको सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले जानकारी दिए। चिकित्सहरूले वार्ताका लागि पहल थाल्न सरकार समक्ष आग्रह पनि गरेका छन्। यसैबीच नेपाल चिकित्सक संघको आह्वानमा सुरु भएको चिकित्सकहरुको रिले अनसन मंगलबार पनि जारी रहने भएको छ।

त्रिवि शिक्षण अस्पतालमा हरेक दिन बिहान १० देखि बेलुकी ५ बजेसम्म रिले अनसन जारी रहेको संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले जानकारी दिए। चिकित्सकहरुको रिले अनशनका कारण अस्पताल पुग्ने बिरामी भने समस्यामा परेका छन्।

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५ /Wednesday, January 30th, 2019, 4:46 pm