महात्मा गान्धी विश्वकै महान् राजनेता

काठमाडौं, माघ १६ । भारतको भूगोलमा जन्म भए पनि शान्ति, अहिंसा र मानवताका पक्षमा निडर भए कै कारण महात्मा गान्धी विश्वकै महान् राजनेताका रुपमा स्थापित भएको चर्चा गरिएको छ ।

महात्मा गान्धी स्मृति दिवसका अवसरमा भारतीय दूतावास र डिल्लीरमण–कल्यायणी रेग्मी स्मृति पुस्तकालय विकास समितिले आज आयोजना गरेको गान्धी शान्ति, अहिंसा र मानवता विषयक कार्यक्रममा सहभागी वक्ताले गान्धी शान्ति र अहिंसाका पूराजी भएको बताए ।

सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गान्धीको सत्यप्रतिको निष्ठा, अहिंसा र मानवता नै मानवजातिलाई शान्ति प्रदान गर्ने एक मात्र असल मार्ग भएको उल्लेख गरे । पूर्वमन्त्री गणेश शाहले समाजलाई समृद्ध तुल्याउन सबैभन्दा ठूलो अस्त्र भनेको शान्ति र अहिंसा नै भएको बताए।

पूर्वराजदूत एवं प्राध्यापक जयराज आचार्यले अहिंसा, स्वतन्त्रता, सत्याग्रह, सादाजीवन र छुवाछुद विरुद्ध गान्धीले गर्नुभएको योगदानको विश्व समुदायबाट मुक्त कण्ठले प्रशंसा हुने गरेको बताए।

नेपालका लागि भारतीय राजदूत मन्जिभसिह पुरीले भारतको स्वतन्त्रताका लागि गान्धीले अघि सार्नुभएको अडान र बाटो आधुनिक विश्वले पनि मुक्त कण्ठले प्रशंसा र अनुशरण गर्दै आएको धारणा व्यक्त गरे ।

सन् १८६९ मा भारतमा जन्मिएका गान्धीले सर्वप्रथम दक्षिण अफ्रीकामा जातीय रङ्गभेद विरुद्धको आन्दोलनमा समेत सक्रिय योगदान पुर्याएका थिए। उनले भारतमा शासन त्यसबेला चलाइ रहेको अङ्ग्रेज विरुद्ध भारत छोड अभियान सञ्चालन गरेका थिए । उनले आन्दोलन शुरु गर्नुभएको ३२ वर्षपछि १९४७ मा भारत स्वतन्त्र भएको थियो । सन् १९४८ जनवरी ३० मा देहावसान भएको हो । उनलाई भारतीय जनताले राष्ट्रपिताका रुपमा सम्मान गर्दछन् ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५ /Wednesday, January 30th, 2019, 3:48 pm