नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ठूलो अनियमितता भएको आशंका

काठमाडौँ, माघ १३ । सत्तारुढ दलकै सांसदहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा ठूलो अनियमितता भएको आशंका व्यक्त गरेका छन् ।

आज प्रतिनिधिसभाको अर्थ समिति बैठकमा बोल्ने अधिकांश सांसदहरूले १८ अर्ब खर्चेर टेलिकमको फोरजी सेवा विस्तार गर्ने योजनामा ठूलो अनियमितता भएको बताएका हुन् ।

सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले निजी क्षेत्रका मोबाइल सेवा प्रदायकले थोरै लागतमा धेरै काम गर्ने तर, सरकारीले धेरै खर्चमा पनि सन्तोषजनक काम गरेको नदेखिँदा अनियमितता भएको हुनसक्ने बताइन ।

सांसद झाक्रीले प्रतिस्पर्धीलाई बजार दिएर टेलिकमले आफ्नो क्षमता बढाउन नसकेको टिप्पणी गर्दै यस्तै अवस्था रहे टेलिकम टाँट पल्टिने चेतावनी दिइन ।

यसैगरी सांसद विष्णु पौडेलले फोरजी विस्तार अत्यन्तै सुस्त गतिमा अघि बढेकोमा असन्तुष्टि जनाए ।
सांसद सुरेन्द्र पाण्डेले निजीलाई प्रोत्साहन गरेर सरकारीलाई रोक्ने काम जायज नहुने भन्दै फोरजी विस्तारमा भइरहेको ढिलाईको कारण माग गरे ।
सांसद ज्ञानेन्द्र कार्कीले टेलिकमको फोरजी सेवा विस्तारबारे समितिमा पर्याप्त छलफल नभएको गुनासो गरेका थिए । अर्थ समितिका सभापति कृष्ण दाहालले मंगलबार पुनः बैठक बसेर यस विषयमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए ।

प्रकाशित मिति: आइतवार, माघ १३, २०७५ /Sunday, January 27th, 2019, 4:14 pm