भोली सार्वजनिक बिदा

काठमाडौँ, पुस ३० । सरकारले माघे सक्रान्तिका अबसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले तमुहरुको पर्व ह्लोसारको अवसरमा बिदा दिएको प्रदेश सरकारले हिन्दु तथा मगरहरुको विशेष पर्व माघे सक्रान्तिमा पनि बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले माघ १ मा गण्डकी प्रदेशभरी सार्वजनिक बिदा निर्णय गरेको सरकारबा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

‘माघे सक्रान्ति हिन्दु धर्मालम्बी तथा मगरहरुको विशेष पर्व हो,’ प्रवक्ता बस्नेतले भने, ‘आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिदा दिन गरिएको प्रस्तावलाई पास गर्ने निर्णय भयो ।’

प्रदेश सरकारले वर्षको ६ दिन बिदा दिन पाउने व्यवस्थाअनुसार बिदा दिन लागिएको यो दोस्रो पटक हो । सरकारले त्यस्ता विशेष अवसरमा बिदा दिँदै जाने प्रवक्ता बस्नेतको भनाइ छ ।

गण्डकी प्रदेशमै जन्मेर पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन २७ गते भने बिदा दिइएको छैन । ल्होसारका अवसरमा पुस १५ मा दिएको प्रदेशको बिदालाई संघ अन्तर्गतका कार्यालयले भने मानेका थिएनन् ।

प्रदेश सरकारले बिदा दिए पनि संघ अन्तर्गतका कार्यालयमा बिदा हुन केन्द्रको गृह मन्त्रालयको स्विकृति चाहिने भन्दै पुस १५ मा संघ अन्तर्गतका कार्यालय खुलेका थिए ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 4:29 pm