सोमबार शेयर बजार दोहोरो अङ्कले बढ्दा यस्ता छन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौँ, पुस ३० । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ विन्दुले बढेर २५० दशमलव ४९ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको आठ लाख पाँच हजार ६०१ कित्ता शेयर रु २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोवार भएका कूल नौ उपसमूह मध्ये आज बैंकिङ उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह एक दशमलव ०९ विन्दुले घटेको छ । यस्तै होटल १८ दशमलव ८४, विकास बैंक चार दशमलव ५६, जलविद्युत् १७७ दशमलव ०७, वित्त छ दशमलव ९६, निर्जीवन बीमा १९ दशमलव २४, अन्य १९ दशमलव ९१, लघुवित्त १५ दशमलव ०७ र जीवन बीमा तीन दशमलव १८ विन्दुले बढेको छ ।

कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । नेपाल बैंकको ४ करोड ७२ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नागरिक लगानी कोष र सिद्धार्थ बैंक परेका छन् ।

सर्वाधिक कमाउने कम्पनी
सोमबार बढेको बजारमा नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, गुर्खाज फाइनान्स, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले बढी कमाएका छन् ।

सर्वाधिक गुमाउने कम्पनी
सोमबार बैंक अफ काठमाडौँ, अरुण कावेली पावर, अपि पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी गुमाएका छन् ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 3:56 pm