चिनीको भाउ बढ्यो, व्यवसायीको चलखेल झन् बढ्दै

काठमाडौं, पुस ३० । चिनीको मूल्य बढाउन व्यवसायीहरुले चलखेल शुरु गरेका छन् । उद्योगीहरुले कारखाना मूल्य बढाउन थालेको भन्दै व्यवसायीको चलखेल बढेको हो ।

यतिबेला व्यवसायीहरु कारखाना मूल्य ७८ रुपैयाँ १० पैसा पुर्याउन लबिङ गरिरहेका छन् । उनीहरुले राष्ट्रिय योजना आयोगका साथै अर्थ, उद्योग र कृषि मन्त्रालयमा विवरण समेत बुझाइसकेका छन् । यदि यही मूल्य कार्यान्वयन भएको खण्डमा चिनीको मूल्य १ सय रुपैयासम्म पर्न सक्ने जानकारहरु बताउँछन् ।

एक सातायता उपभोक्ताले चिनी खरिदमा १० रुपैयाँसम्म बढी तिर्नुपरेको छ । व्यवसायीहरुले थोकबाट प्रतिकिलो ७१र७२ रुपैयाँमा किनिरहेको दाबी गर्दै आफूले ७५ रुपैयाँसम्ममा बिक्री गरेको बताएका छन् । तर, केही साना किराना पसलमा ८० रुपैयाँसम्म पनि मूल्य कायम गरिएको छ ।

संसदको लेखा समितिले १ अर्ब ६९ करोड चलखेल भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिनका लागि निर्देशन समेत दिइसकेको छ । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 7:11 am