घलेम्दीको आइपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौं, पुस २९ । घलेम्दी हाइड्रो लिमिटेडको साधारण शेयर (आइपीओ) मंगलबार बिहान ११ बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार मंगलबार बिहान ११ बजे भिबोर क्यापिटलको कार्यालय, ट्रेड टावर थापाथली काठमाडौंमा बाँडफाँट हुने तय भएको छ ।

घलेम्दीले पुस १९ गतेदेखि पुस २३ गतेसम्म १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

उक्त आइपीओमा ४१ करोड २२ लाख ४६ हजार रुपैयाँको आवेदन परेको छ । जसमा ५५ हजार ८४३ जना आवेदकले ४१ लाख २२ हजार ४६० कित्ताको लागि आवेदन दिएको अन्तिम तथ्यांक बिक्री प्रबन्धकले दिएको छ । यो तथ्यांकलाई आधार मान्दा १४ हजार १५२ जना आवेदकको भागमा २० कित्ता र ४१ हजार ६९१ जनाको हातमा ३० कित्ता सेयर पर्ने देखिन्छ । कम्पनीको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ ।

घलेम्दीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको कुल लागत १ अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ हुन आउँछ ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 2:17 pm