माथिल्लो तामाकोशीको शेयर आजबाट विक्री गर्न पाइने

काठमाडौँ, पुस २९ । धितोपत्र बजारमा अघिल्लो साता विभिन्न ४ कम्पनीका शेयर सूचीकृत भएका थिए । नेपाल स्टक एक्सचेञ्जका अनुसार अघिल्लो साता ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सूचीकृत भएको छ । सो कम्पनीको १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत भयो । सो कम्पनीको शेयर आजदेखि दोस्रो बजारमा खरीद बिक्री शुरु हुने स्टकले जनाएको छ ।

त्यसैगरी जोशी हाइड्रोपावर लिमिटेडको पनि ३७ लाख १४ हजार कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ । स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर पनि यसै साता स्टकमा सूचीकृत भए । स्वदेशी लघुवित्तको ११ लाख ५० हजार र नागबेलीको सात लाख ६६ हजार ५३१ कित्ता शेयर सूचीकृत भएका छन् ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 8:35 am