धादिङमा बस दुर्घटना हुँदा १ को मृत्यु, ३० घाइते

धादिङ, पुस २९ । काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आइतबार बिहान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।

बस दुर्घटनामा बर्दियाका १८ वर्षीय नरेन्द्र थारु चौधरीको मृत्यु भएको छ । चौधरीलाई उपचारको क्रममा चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको हो ।

घाइतेको प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । गाडीमा ४१ जना सवार रहेका थिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भए पनि राजमार्ग अहिले पुनः सञ्चालन भएको छ ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 7:35 am