नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र

काठमाडौँ, पुस २९ । राष्ट्रिय परिचयपत्र नागरिकता नपाएकालाई पनि दिइने भएको छन् । नागरिकता बनाउने उमेर नपुगेकाले नाबालक परिचयपत्र बनाउने व्यवस्था गरिएको छ । फेरि परिचयपत्र लिनुपरेमा भने पुनः जैविक विवरणहरु उपलब्ध गराउनुपर्ने हुन्छ ।

सरकारद्वारा संघीय संसद् सचिवालयमा दर्ता गराइएको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको छ । नेपालको संविधानको धारा ५१ को ‘राज्यका नीतिहरु’ सम्बन्धी व्यवस्थाअन्तर्गत खण्ड ‘च’ को उपखण्ड ९७० मा ‘एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली विकास गरी नागरिकका सबै प्रकारका सूचना र विवरणहरु एकीकृत रुपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने’ कुरा उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापाले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको औपचारिक सुरुआत गर्नुभएको थियो । यही मंसिर ३ गते १ सय १ वर्षीया भगवतीदेवी भण्डारीले सर्वप्रथम उक्त परिचयपत्र पाउनुभएको थियो ।

पहिलो चरणमा पाँचथर र सिंहदरबारभित्रका निमाजती कर्मचारी र सेना, प्रहरीलाई वितरण गर्न थालिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । विभागका निर्देशकसमेत रहनुभएका जोशीले सिंहदरबारभित्र केही कार्यालयमा आफैं गएर औंलाको छाप लिएको र परिचयपत्र बनाउने काम भएको बताउनुभयो ।
परिचय नम्बर प्राप्त व्यक्तिको मृत्यु भए वा कुनै कारणबाट त्यस्तो व्यक्तिको परिचयपत्र रद्ध भएको वा कायम नरहेको अवस्थामा परिचयपत्र नम्बर अरुलाई नदिइने व्यवस्था छ । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 7:19 am