डेढ वर्षपछि जग्गाको कित्ताकाट खुल्यो

काठमाडौं, पुस २७ । सरकारले डेढ वर्षपछि जग्गाको कित्ताकाट फुकुवा गरेको छ । जग्गाको खण्डीकरण गर्न गरिएको यसअघिको निर्णय खारेज गर्दै सरकारले कित्ताकाट फुकुवा गरेको हो ।

शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पद्मा अर्यालले नागरिकका व्यावहारिक समस्या सुल्झाउन कित्ताकाट खुकुलो बनाइएको बताइन्।

‘यो तत्कालीन समाधान मात्र हो, मन्त्रालयको सफ्टवेयरमा कुनै जमिन खेतीयोग्य हो कि होइन भनेर सबै विवरण राख्दैछौं,’ मन्त्री अर्यालले भनिन्, ‘तर अहिले विवरण नहुँदा स्थानीय तहको भर पर्नुपरेको हो।’

भूमि सुधार मन्त्रालयको यो निर्णयपछि डेढ वर्षदेखि रोकिएको कित्ताकाट खुल्ने देखिएको छ । २०७४ साउन २६ देखि कित्ताकाट गर्न सरकारले रोक लगाएको थियो। यसरी रोक लाग्दा अंशबण्डामा समेत समस्या भएको भन्दै खुल्ला गर्न सरकारलाई दबाब परेको थियो।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ /Friday, January 11th, 2019, 4:37 pm